• १० मंसिर २०८१, सोमबार

भूकम्पपछिका दस महिना : पुनर्निर्माणको ढिलाइले पीडित चिन्तित

blog

भूकम्पपीडितले बनाएका अस्थायी टहरा । तस्बिर : सहदेव बस्नेत

ललित बसेल

सुर्खेत, भदौ ६ गते । जाजरकोटमा भूकम्प गएको १० महिनाभन्दा बढी भइसकेको छ । भूकम्प गएपछि खोज, उद्धार र राहतको प्रभावकारी काम भए पनि त्यसपछिको पुनर्निर्माण तथा पुनर्लाभको काम सुरु हुन नसक्दा यहाँका भूकम्पपीडित तथा जनप्रतिनिधिको चिन्ता बढेको छ । भूकम्प प्रभावितले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाए पनि दोस्रो किस्ता अझै पाउन सकेका छैनन् । दोस्रो किस्ता वितरण गरिएको भए पुनर्निर्माण तथा पुनर्लाभको कार्यक्रम गर्ने भनिए पनि दोस्रो किस्ता पाउन नसक्दा प्रभावितलाई पीडामाथि थप पीडा बढेको छ । 

प्रदेश राजधानी सुर्खेतमा भएको एक कार्यक्रममा आएका भूकम्पको इपिसेन्टर मानिएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले दोस्रो किस्ताको रकम नै नआउँदा पुनर्निर्माण र पुनर्लाभको कार्यक्रम नै हुन नसकेको बताउनुभयो । उहाँले भूकम्प प्रभावितले अस्थायी आवास बनाउन पहिलो किस्ताको रकम पाइसके पनि दोस्रो किस्ताको रकम पाउन नसकेको बताउनुभयो । 

बारेकोटमा पाँच हजार ११२ लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छन् भने २६० परिवारले मात्रै दोस्रो किस्ता पाएका छन् । अरूले त्यो रकम पनि पाउन सकेका छैनन् । सङ्घीय सरकारले रकम नपठाउँदा दोस्रो किस्ताको रकम वितरण गर्न नसकिएको अध्यक्ष गिरीले बताउनुभयो । अहिलेसम्म दोस्रो किस्ता वितरण गरेर पुनर्निर्माण तथा पुनर्लाभका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा सङ्घीय सरकारकै ढिलाइले ती काम सञ्चालन हुन नसकेको आरोप उहाँले लगाउनुभयो । पुनर्निर्माणको कार्यविधि नहुँदा भूकम्प प्रभावितले पीडा खेप्नु परेको उहाँको भनाइ छ । भूकम्पपछि हिउँदभरि चिसोको समस्या भोग्दै बर्सातमा पनि कष्टकर जीवन बिताइरहेका छन् । जतिसक्दो छिटो पुनर्निर्माणको काम थाल्नुपर्ने र उनीहरूको जीविकोपार्जनका लागि पुनर्लाभका काम गर्नुपर्नेमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ढिलासुस्तीले समस्या बल्झिरहेको अध्यक्ष गिरीले बताउनुभयो । अस्थायी टहरा भत्कन थालेपछि भूकम्प प्रभावित अचेल सन्त्रास बोकेर चर्किएका घरमा बस्न बाध्य छन् । 

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले पनि दोस्रो किस्ताको रकम नआउँदा भूकम्प प्रभावितलाई स्थायी आवास बनाएर सार्न नसकिएको बताउनुभयो । दोस्रो किस्ता प्राप्त गर्न विपत् पोर्टलमा लाभग्राहीको नाम समावेश भएको हुनुपर्ने हुन्छ । नगरपालिकाका नौ हजार ८०९ लाभग्राहीमध्ये छ हजार ६३१ लाभग्राहीले पहिलो किस्ता पाएका थिए । दोस्रो किस्ता पाउनका लागि विपत् पोर्टलमा केवल एक हजार १३६ लाभग्राही मात्र समावेश भएका छन् । अरूको हुन सकेको छैन । दोस्रो किस्ताका लागि पहिलो किस्ता लिएपछि पुरानो चर्किएको घर भत्काउनुपर्नेलगायतका मापदण्ड राखिएका छन् तर भूकम्प प्रभावितले घर नभत्काएको पाइएकाले दोस्रो किस्ताका लागि विपत् पोर्टलमा नाम समावेश हुन नसकेको उहाँले बताउनुभयो । 

उहाँले भूकम्प प्रभावितको पुनर्निर्माणको काममा ढिलाइ भएको स्विकार्नुभयो । जतिसक्दो छिटो प्राधिकरणले कार्यविधि पारित गरेर पुनर्निर्माणको काम थालिहाल्नुपर्ने सुझाव उहाँले दिनुभयो । प्रभावितको अवस्था नाजुक भइसकेको भन्दै सङ्घीय सरकारले पुनर्निर्माणको काम नथाल्दा हिउँद, गर्मी र बर्खामा पीडा खेप्नु परेको उहाँले बताउनुभयो । 

यता राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको एक महिनाभित्र पुनर्निर्माण कार्यविधि पारित भइसकेर पुनर्निर्माणको काम सुरु हुने दाबी गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोख्रेलले प्राधिकरणले पुनर्निर्माण कार्यविधि तयार भइसकेको र बजेट सुनिश्चितका लागि अर्थ मन्त्रालयले पनि सहमति दिइसकेको हुँदा अबको एक महिनाभित्र कार्यविधि पारित भई काम सुरु गरिने जानकारी दिनुभयो । उहाँले पुनर्निर्माणका लागि प्रदेश र स्थानीय तहमा स्रोत उपलब्ध गराई काम थालिने भन्दै जतिसक्दो छिटो पुनर्निर्माणको काम थालिहाल्ने जिकिर गर्नुभयो ।