• १० मंसिर २०८१, सोमबार

भारतीय प्रधानमन्त्री मोदी पोल्यान्डमा

blog

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । फाइल तस्बिर

वार्सा, भदौ ५ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक भ्रमणका क्रममा बुधबार पोल्यान्ड पुग्नुभएको छ ।

रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’ का लागि अभियान सुरु गर्न यसै साताको अन्त्यमा युक्रेनको भ्रमण गर्नुअघि उहाँ पोल्यान्ड पुग्नुभएको हो । युक्रेनको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुनुहुनेछ ।

साथै उहाँ ४५ वर्षमा पोल्यान्डको भ्रमण गर्ने पनि पहिलो भारतीय प्रधानमन्त्री हुनुहुनेछ । पोल्यान्ड युक्रेनको कट्टर सहयोगी तथा छिमेकी देश हो र किएभ जाने विदेशी नेताहरूका लागि पोल्यान्ड महत्त्वपूर्ण ‘ट्रान्जिट’ पनि हो । 

मोदीले बिहीबार पोलिश प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडाका साथै यस मुलुकमा रहेका भारतीय नागरिकहरूसँग भेट्ने अपेक्षा गरिएको छ । उहाँको भ्रमणअघि पोल्यान्डका उपप्रधानमन्त्री व्लादिस्लाव कोसिनियाक–कामिजले पत्रकारहरूसँग भन्नुभयो, “पोल्यान्डलाई भारतसँग दिगो साझेदारीको आवश्यकता छ ।”

मोदीले रुससँग भारतको ऐतिहासिक रूपमा न्यानो सम्बन्ध कायम राख्नुका साथै क्षेत्रीय प्रतिद्वन्द्वी चीन विरुद्ध पश्चिमी मुलुकहरूसँग घनिष्ठ सुरक्षा साझेदारी गरेर नाजुक सन्तुलन बनाउनुभएको छ ।उहाँको सरकार युक्रेनमा रुसको सन् २०२२ को आक्रमणको स्पष्ट निन्दा गर्न पन्छिएको छ । यसको सट्टा उसले दुवै पक्षसँग वार्तामार्फत आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ । 

पोल्यान्ड प्रस्थान गर्नुअघि बुधबार प्रकाशित विज्ञप्तिमा मोदीले भन्नुभयो, “एक मित्र र साझेदारका रूपमा हामी यस क्षेत्रमा चाँडै शान्ति र स्थिरता फर्किने आशा गर्दछौँ ।” किएभमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग छलफल गर्नुहुने र ‘युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानमा दृष्टिकोण साझा गर्नुहुने’ विज्ञप्तिमा उल्लेख छ ।

सोमबार जेलेन्स्कले मोदीको भ्रमणका क्रममा ‘धेरै दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा गरिएको’ बताउनुभयो । जुलाईमा रुसले युक्रेनका धेरै सहरमा आक्रमण गरेको केही घन्टापछि मोदीले मस्कोको भ्रमण गर्नुभएको थियो र आफ्नो निवासमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अङ्कमाल गर्दै फोटो खिच्नुभएको थियो । जेलेन्स्कीले यसको निन्दा गर्नुभएको थियो ।

मोदीले सन् २०१९ मा पनि रुसको भ्रमण गर्नुभएको थियो र दुई वर्षपछि मस्कोले युक्रेनविरुद्ध आफ्नो आक्रामक अभियान सुरु गरेको केही साताअघि नयाँदिल्लीमा पुटिनलाई स्वागत गर्नुभएको थियो ।  भारत धेरै हदसम्म रुसको स्पष्ट निन्दा गर्न र क्रेमलिनलाई लक्षित गर्ने संयुक्त राष्ट्रसङ्घीय प्रस्तावहरूबाट टाढा रहेको छ । रासस/एएफपी