• १७ पुस २०८१, बुधबार

दुबईमा नेपाली आदिवासीको सांस्कृतिक प्रदर्शन

blog

कार्यक्रममा सहभागी भएकाहरु ।

दुबई, भदौ ५ गते । दुबईमा ३० औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवस विभिन्न जातीय खानपान, भेष भूषाहरूको प्रदर्शन, शुभकामना आदान प्रदान र मौलिक संस्कृति झल्काउँदै सम्पन्न भएको छ । विगतमाजस्तै यसपालि विश्व आदिवासी दिवसमा ११ वटा जातीय संस्थाको छाता संस्था नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आयोजना गरेको हो । 

विक्रम लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाली राजदूतावास अबुधावीका श्रम कन्सुलर दीनबन्धु सुवेदी रहनुभएको थियो । कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, समाजसेवी र पत्रकारको सहभागिता थियो । 

कार्यक्रमको मुख्य आकर्षण जातीय सांस्कृतिक झाँकी प्रदर्शन, जातीय विभिन्न खानपानका परिकारको स्टल, जातीय भाषा, भेसभुसाहरूको स्टल र पौराणिक मौलिक बस्तुहरूको प्रदर्शन रहेको थियो । 

कार्यक्रममा स्थानीय कलाकारहरूको विविध साङ्गीतिक प्रस्तुति रहेको थियो । मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत आयोजना गरिएको थियो ।


मिस इन्डिजिनियस युएई–२०२४ को ताजसहित उपाधि शेर्पा किदुक युएईका टासी डोल्मा शेर्पाले हात पार्नुभयो । मिस्टर इन्डिजिनियस युएई –२०२४ उपाधि  नेपाल मगर सङ्घ शाखा युएईका होम रजाली मगरले हात पार्न भयो । 

कार्यक्रममा आफ्नो जातीय संस्थासहित विविध क्षेत्रको कार्यमा उच्च योगदान दिएबापत सम्मान गरिएको थियो। नेवा: पुचः युएईको तर्फबाट यसपालि पुरुष तर्फ पुचःका निवर्तमान अध्यक्ष, प्रमुख सल्लाहकार एवं सांस्कृतिक संयोजक लक्ष्मण श्रेष्ठ र महिलातर्फ केन्द्रीय सदस्य एलिना श्रेष्ठ सम्मानित हुनुभयो । कार्यक्रमको मिडिया पार्टनरमा फोनिज युएई र हाम्रो कुराकानी अनलाइन टिभी रहेको थियो ।