• १० मंसिर २०८१, सोमबार

नेपाल–भारत कूटनीतिक सम्बन्ध

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा अहिले भारत भ्रमणमा हुनुहुन्छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा आइतबार भारत जानुभएको डा. राणाको परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो भ्रमण मात्र होइन, वर्तमान सरकार गठन भएपछि नेपाल सरकारका तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण पनि हो । मन्त्री डा. राणाले सोमबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ । ती भेटमा नेपाल–भारतबिच विविध विषयमा सहकार्यमा जोड दिइएकाले दुई देशबिचको आपसी सहयोगमा आगामी दिनमा अभिवृद्धि हुने अपेक्षा पनि गरिएको छ । डा. राणा एकैदिन भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग भेटवार्ता गर्ने धेरैपछि नेपालको पहिलो परराष्ट्रमन्त्री पनि हुनुभएको छ । 

प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटवार्तापछि मन्त्री डा. राणाले सामाजिक सञ्जालमा सो भेटमा आफू र मोदीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताका बारेमा छलफल गरेको उल्लेख गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ “मलाई आशा छ, यो भ्रमण र हाम्रा उच्चस्तरीय भेटवार्ताले दुई देशबिचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने छ ।”

भेटपछि भारतीय प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जाल एक्समा परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभएको छ । उहाँले भारत र नेपालबिच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्नुभएको छ । सोमबार साँझ नयाँ दिल्लीमा भएको उहाँहरूबिचको करिब ३० मिनेटको भेटमा दुई मुलुकको विकास साझेदारीमा निरन्तरताका लागि भारत तत्पर रहेको पनि प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभएको छ । सो भेटबारे भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा मोदी र राणाबिचको भेटवार्तामा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको जनाएको छ  । उक्त भेटमा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत सहभागी हुनुहुन्थ्यो । 

परराष्ट्रमन्त्री डा. राणाले सोमबार दिउँसो नै आफ्ना भारतीय समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ । सो भेटका क्रममा उहाँहरूबिच नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा विस्तृत रूपमा छलफल भएको थियो । सो भेटवार्ता फलदायी रहेको टिप्पणी गर्दै मन्त्री डा. राणाले भन्नुभएको छ “भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो । यो भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा मैले गरेको छु ।” 

त्यसै गरी भारतीय विदेशमन्त्री जयशङ्करले पनि औपचारिक भ्रमणका क्रममा नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको थियो । सो भेटपछि सामाजिक सञ्जाल एक्समा विदेशमन्त्री जयशङ्करले लेख्नुभएको छ, “द्विपक्षीय वार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकासलगायत बहुआयामिक सहयोगबारे छलफल भएको छ । नेपालले भारतमा करिब एक हजार मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको छ, दुई देशको सम्बन्धमा यो एउटा नयाँ कोसेढुङ्गा पनि हो ।”

अघिल्लो हप्ता नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीसँग पनि परराष्ट्रमन्त्री डा. राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ थप बढाउनका लागि नेपाललाई थप हवाई रुट उपलब्ध गराउने कुरा राख्नुभएको थियो । उहाँले सचिव मिस्रीमार्फत भारतसँग थप हवाई रुटको कुरा उठाउनुभएको विषयलाई नेपाली सञ्चार माध्यमले प्राथमिकताका साथ प्रचार पनि गरेका थिए । त्यसै गरी सो भेटका क्रममा मन्त्री डा. राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाउनुभएको थियो । 

पञ्चेश्वर आयोजनाका बाँकी काम अगाडि बढाउन, टनकपुर बाँधको नहरमा पानी छोड्न, बाणगङ्गा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा पनि सचिव मिस्रीमार्फत उहाँले चासो राख्नुभएको थियो । त्यसै गरी सो शिष्टाचार भेटका क्रममा मन्त्री डा. राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गर्नुभएको थियो । विदेश सचिवको भ्रमणका क्रममा अरू उच्चस्तरीय भेटवार्ता भएका भए पनि नेपालका तर्फबाट हालका लागि आवश्यक चासोहरूलाई भने मन्त्री डा. राणाले नै उठाउनुभएको थियो । 

नेपालले भारतसँग गरी आएको विद्युत् व्यापार सम्झौताको प्रस्ताव नेपालको अर्को एक राष्ट्रिय आवश्यकता हो । परराष्ट्रमन्त्री डा. राणाको भारत भ्रमणका क्रममा यस विषयमा थप प्रगति भएको छ । अब हामीलाई नेपालको बिजुली बेच्ने बजार आवश्यक छ । त्यो बजारको एउटा बलियो साँचो भारतसँगै छ । पहिलो कुरा भारतमै ऊर्जा अपुग छ भने अर्को कुरा भारतबाहेकको बजारका लागि पनि बाटो भारतकै आवश्यक पर्छ । 

यस विषयमा यसै भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशङ्करले नेपालले भारतमा एक हजार मेगावाट विद्युत् निर्यात गर्न लागेकोमा खुसी व्यक्त गर्नुभएको थियो । नयाँदिल्लीमा परराष्ट्रमन्त्री डा. राणासँग द्विपक्षीय बैठकपछि खुसी व्यक्त गर्दै उहाँले नेपालले भारतमा करिब एक हजार मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको बताउनुभएको थियो । यसलाई उहाँले यस भ्रमणको र यसमार्फत नेपाल भारत सम्बन्धको एउटा नयाँ कोसेढुङ्गाको संज्ञा पनि दिनुभएको छ । उता सोमबार मात्र भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको थियो । अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति दिएको सोही दिन जनाएको थियो । नयाँ निर्णयसँगै भारतले दिएको कुल स्वीकृत परिमाण ९४१ मेगावाट पुगेको छ ।

नेपाल र भारत सदियौँ पुराना मित्रराष्ट्र हुन् । कुनै लेनदेन, व्यापार या सम्झौताभन्दा पनि आफ्नो छिमेकीपन र खुला सीमासहितको खुला सम्बन्ध दुई देशको अलौकिकता हो भन्दा फरक पर्दैन । यसैबाट सम्बन्धको मापन गर्दा द्विपक्षीय हित नै बढी भेटिन्छ । यस आधारमा सम्बन्धको बहुआयामिकताको मापन गर्नु दुवैतर्फकै हितमा हुने छ । खुला सिमाना हुनाका धेरैमध्येको एउटा अर्थ हाम्रा द्विपक्षीय सम्बन्धका आयाम र आयतन पनि खुलापनमै आधारित हुनु पर्छ भन्ने पनि हो । खुला सिमानासँगै हृदय पनि खुला नै हुनु पर्छ भन्ने विश्वास त गरिन्छ नै । खुला हृदयबाट नै एकले अर्काका अप्ठेरा बुझ्न, मनन गर्न र मापन गर्न पनि सजिलो पर्छ । ती समस्याको उच्चतम बुझाइ र समझदारी निर्माणको काम गर्ने एउटा अवसर यस्तै उच्च भ्रमण पनि हो । त्यो समझदारीको उचाइ यस पटकको भ्रमणमा थप बढेको देखिएको छ ।

नेपालका मन्त्री तथा प्रधानमन्त्रीको भारत या अर्को कुनै देशको भ्रमण माग्न या केही लिन जाने मात्र होइन भन्ने विशिष्टीकृत बुझाइ पहिलो आवश्यकता हो । नेपालका तर्फबाट भारत र भारतका तर्फबाट नेपालमा हुने उच्चस्तरीय भ्रमणलाई हामीले त्यस अर्थमा लिनु पनि हुँदैन । बरु यो अवसर भनेको आपसमा परेका तथा उत्पन्न भएका अप्ठेराहरूको गाँठो फुकाउने समझदारीको निर्माण गर्नु हो र हुनु पनि पर्छ । यस्ता उच्चस्तरीय भ्रमण हामीलाई परेका अप्ठेराहरू फुकाउने समझदारी निर्माणका लागि उचित अवसर बन्ने पनि गरेका छन् । यसलाई पनि कूटनीतिक लाभ भनिन्छ र यसैमा रहेर दुई ठुला छिमेकका समृद्धिबाट लाभ लिन सक्ने कूटनीतिक क्षमतामा हामी रहन सुक्नु पर्छ । 

नेपाल कुनै ठुलो आर्थिक शक्ति या सैन्य शक्ति राष्ट्रमा पर्दैन । हामीसँगको शक्ति भनेको सबै पक्षसँग कूटनीतिक वार्ता र छलफलका माध्यमबाट समझदारीको निर्माण गर्नु नै हो । हामीले वार्ताको टेबलमा बसेर राखेका राष्ट्रिय हितका जायज पक्षहरूलाई हाम्रा छिमेकीले राम्रोसँग सुन्छन्, सुन्नु पर्छ । हाम्रा आवश्यकता छिमेकीलाई सुनाउने अथवा मुलुकको राष्ट्रिय हितलाई उनीहरूसँग राख्ने शैलीले कूटनीतिक क्षमता मात्र प्रदर्शन गर्दैन, उनीहरूमा छिमेकपनको दायित्वबोध पनि गराउन सक्छ । यस कारण पनि हामीसँग त्यस प्रकारको प्रभावकारी ‘वार्ता कूटनीति’ हुनु जरुरी छ । हामीले दुई ढुङ्गाबिचको तरुल होइन कि अब आर्थिक रूपमा समृद्ध दुई ठुला छिमेकीबाट लाभ लिन सक्ने कूटनीतिक क्षमतालाई थप बलियो बनाउँदै लैजानु पर्छ । 

छिमेकसँगको कूटनीतिक सम्बन्धको कुरा गर्दा आपसी विश्वास धेरै हदसम्म जोडिएर आउने गर्छ । यो विश्वासको वातावरण निर्माण गर्ने काममा हाम्रो पनि ठुलो हात रहन्छ । हाम्रो कूटनीतिक कौशलतामा सधैँ राष्ट्रिय एकता र विश्वासको निर्माण आवश्यक रहन्छ । हाम्रा आवश्यकताका आधारमा गरिने एजेन्डाको प्राथमिकीकरणले पनि हाम्रो कूटनीतिक क्षमता निर्धारण गर्न सक्छ । जे होस्, यो भ्रमणले नेपाल भारत सम्बन्धमा एक नयाँ आयाम थपेको छ । बिहानीले दिउँसोको प्रतिनिधित्व गर्छ भने जस्तै वर्तमान सरकार बनेको करिब महिना दिनमै परराष्ट्रमन्त्री डा. राणाले लिएको कूटनीतिक सक्रियताको नेतृत्वले नेपालका द्विपक्षीय एवं बहुपक्षीय सम्बन्धहरूको दायरा थप फराकिलो पार्ने काममा मद्दत पुग्ने स्पष्ट देखिन्छ । नेपालको भारतसँगको सम्बन्धका बारेमा त यहाँ कुनै व्याख्या गरिरहनु पर्दैन । यो महत्वपूर्ण कूटनीतिक जिम्मेवारीलाई नवनियुक्त परराष्ट्रमन्त्रीले जसरी अघि बढाउनुभयो, यसले आगामी दिनमा दुई देशबिचको सम्बन्ध र यसका समझदारीलाई थप विस्तार गर्ने अपेक्षा गर्न सकिन्छ । 

Author

एकराज पाठक