संस्कृति भनेको समाजको सोच, विचार, काम गर्ने प्रकृति आदिमा निहित हुन्छ । प्रकृतिको मूल अवस्थाबाट संस्कार गरिएको मानवीय व्यवहार संस्कृति हो भने प्रकृतिलाई अपचलन गरिएको वा विचलित भएपछिको स्थितिलाई विकृति भनिन्छ । संस्कृति भनेको प्राकृतिक वस्तु होइन । यो त सिक्ने वा आर्जन गर्ने वस्तु हो । संस्कृतिमा मानिसले जन्म वा वंशानुगत रूपमा प्राप्त हुने निश्चित व्यवहार हुन्छन् भने व्यक्तिले आफ्ना पूर्वजबाट सामाजिक व्यवहार उत्तराधिकारका रूपमा प्राप्त गर्छ । सांस्कृतिक सम्पदा भनेको विगतका पुस्ताबाट विरासतमा प्राप्त समाजको मूर्त र अमूर्त सम्पदा हो । संस्कृतिमा मूर्त वा भौतिक र अमूर्त वा गैरभौतिक गरी दुई वटा छुट्टाछुट्टै विभाग हुन्छन् ।
मूर्त संस्कृति
सांस्कृतिक सम्पदाका मूर्त संस्कृति जस्तै भवनहरू, स्मारकहरू, सामाजिक कलाकृति, सामाजिक परिवेशका परिदृश्य, पुस्तक आदि हुन । यी सामान्यतया चल र अचल सम्पदा गरी दुई समूहमा विभाजित हुन्छन् । अचल सम्पदाले भवन, भवनका मानव निर्मित अङ्गहरू जस्तै झ्याल (नेपालका सन्दर्भमा देशेमरु झ्या), भित्ते चित्रहरू आदि पर्छन् । यिनमा कलात्मक सिर्जनाहरू, भवनहरू र स्मारकहरू जस्ता निर्मित सम्पदाहरू र मानव रचनात्मकताका अन्य भौतिक वा मूर्त उत्पादनहरू पर्छन् । प्रतीकात्मक र साङ्केतिक विम्बहरूकै समष्टिबाट निर्मित पौराणिक कथावस्तुका रोचक घटनावलीलाई पछ्याएर बनाइएका विवाह, व्रत, चाडपर्व, पूजा आराधनाका लागि बनाइएका चित्र अचल संस्कृतिका नमुना हुन् ।
अमूर्त संस्कृति
अमूर्त वा अभौतिक संस्कृति विचार, आदर्श, भावना र विश्वाससँग सम्बन्धित हुन्छन् । लोकगीत, भाषा, परम्परागत ज्ञान, जैविक विविधता सहितका महत्वपूर्ण परिदृश्य अमूर्त संस्कृति अन्तर्गत पर्छन् । सामाजिक मूल्यमान्यता र परम्पराहरू, चालचलन र अभ्यासहरू, सौन्दर्य र आध्यात्मिक विश्वासहरू, कलात्मक अभिव्यक्ति, भाषा र मानव गतिविधिका उत्कृष्ट पक्षहरू पनि अमूर्त संस्कृति अन्तर्गत पर्छन् । इतिहासको विशेष कालखण्डमा निर्मित सामाजिक रीतिरिवाजहरू, समाजमा व्यवहार गर्ने तरिकाहरू र औपचारिक सामाजिक नियमहरू पनि अमूर्त संस्कृतिका अङ्ग हुन् । युनेस्को (२००३) ले मानव व्यवहारका अभ्यास, सामाजिक प्रतिनिधित्व, सामाजिक अभिव्यक्ति, मानवीय ज्ञान, सिपलाई स्थानीय समुदायको सांस्कृतिक अंशको रूपमा पहिचान गरेको छ ।
गुठी व्यवस्था नेपाल प्राचीनकालदेखि नै विभिन्न देवालय, शिवालय, मठ, मन्दिर, चैत्य, गुम्बा, पाटी, धर्मशाला, अनाथालय, पाकशाला आदिले भरिपूर्ण देशको रूपमा चिनिँदै आएको छ । यस किसिमका धार्मिक, सांस्कृतिक, शैक्षिक, सामाजिक, परोपकारी र स्वास्थ्यसम्बन्धी धरोहरको स्थापना, निर्माण र सञ्चालन र व्यवस्थापनमा राज्य र निजीस्तरबाट समेत महत्वपूर्ण कार्यहरू हुँदै आएका छन् । देवालय, शिवालयलगायतका धार्मिक प्रतिष्ठान खडा गर्ने, तिनको रेखदेख र सञ्चालन गर्ने, दीर्घकालसम्म सञ्चालन र व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्य राखी चल अचल सम्पत्तिको जोहो गरी गुठी खडा गर्ने प्रचलनको सुरुवात लिच्छविकालदेखि हुँदै आएको पाइन्छ । गुठी व्यवस्थाको निरन्तरता नै संस्कृति संरक्षणको आधार स्तम्भ हो । जहाँ गुठी व्यवस्था फैलिन्छ, त्यहाँ संस्कृति जगेर्नाले प्राथमिकता प्राप्त गर्छ । गुठीको स्थापना नै सामाजिक वा धार्मिक कार्य निरन्तर रूपले सञ्चालन गर्न आफ्नो सम्पत्तिको हक वा स्वामित्व हस्तान्तरण गर्ने प्रक्रियाको रूपमा भएको हो ।
संस्कृति संरक्षणका चुनौती
नेपालमा बहुभाषा, धर्म, संस्कृति र पहिचान छ । बहुधार्मिक, सांस्कृतिक र बहुपहिचानयुक्त मुलुकमा बर्सौंदेखि नेपाली मिलेर बसेका छन् तर यो सदभावमा केही समययता दखल पुर्याउने विभिन्न प्रयत्न भइरहेका छन् । यतिबेला हिन्दु र गैरहिन्दुबिचमा द्वन्द्व सिर्जना गरेर केही स्थानमा अशान्त बनाउन खोजिरहँदा त्यहाँ धार्मिक सद्भाव र सहिष्णुता कायम गराउन विभिन्न वर्ग, क्षेत्र, समुदाय, राजनीतिक नेतृत्वबाट पनि प्रयत्न भइराखेको छ । गुठी परम्परालाई नेपालको मौलिक सम्पदा, संस्कृति सामुदायिक पुँजीको रूपमा लिन सकिन्छ । जसको कारण नेपाल विश्वभर चिनिएको छ । संस्कृति, मौलिक सम्पदा देशको अस्तित्वसित गाँसिएको हुनाले गुठी संस्कृतिलाई संरक्षण र संवर्धन गर्न सरकारले संस्कृतिविद्, गुठी सञ्चालक, गुठीयार र सरोकारवालासित छलफल चलाउनु जरुरी छ ।
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएको र सबै धर्मावलम्बी, भाषा भाषीहरू एक आपसमा मिलेर बसिरहेका देश हो । अनेकतामा एकताको रूपमा छरिएर रहेका धार्मिक, भाषिक, सांस्कृतिक समूह नै नेपालको पहिचान भएको हुँदा यी समूह बिचको विवादको कल्पना पनि गर्न सकिँदैन । यस्ता पहिचानको अनन्तकालसम्म अस्तित्वको सुनिश्चितता गुठी व्यवस्थाले गर्न भएकोले सो व्यवस्थाको जगेर्ना गर्नु हामी सबैको जिम्मेवारी हो ।
नेपालको धर्म र प्रथाको पर्यायवाचीको रूपमा रहेको गुठी व्यवस्था शताब्दीयौँदेखि नेपाली जनजीवनमा राष्ट्रको मूल धर्म र यसभित्र अन्योन्याश्रित संस्कृतिका आधारलाई जीवन्त राखी युगौँयुगसम्म कायम गराउने क्षमता राख्ने व्यवस्था हो । समाजको हित हुने काममा समर्पित बन्न गुठीले दिएको प्रेरणा सर्वकालीन महìवको र अनुकरणीय छ । नेपालमा समाजसेवाको थालनी गुठी व्यवस्थाबाट भएको पाइन्छ । समाज उपयोगी कतिपय कार्य गर्न वा गरेर गुठी राखिएका पाइन्छन् । पातलो बस्ती, यातायातको कुनै साधन नभएको बेला पट्यारलाग्दो बाटोघाटोमा पाटी, पौवा, सत्तल, धर्मशाला बनाउने, पानीको अभाव भएको ठाउँमा पिउने पानीको बन्दोबस्त गर्ने, खोलानाला तर्न साँघु पुल बनाउने, अशक्त तथा आश्रयहीनलाई सदावर्त सिधा बाँड्ने जस्ता कार्यका लागि गुठी व्यवस्था सामाजिक सेवाको एउटा अनुक्रम हो । जसलाई गुठी संस्थानले निरन्तरता एवं व्यवस्थित गर्दै आएको छ । धार्मिक, सांस्कृतिक परम्परा, मूल्य र मान्यता जोगाउन गुठी संस्थानले दिएको योगदान सदासर्वदा महत्वपूर्ण रहेको छ । गुठी संस्थानको स्रोत न्यून हुँदा संस्कृति संरक्षणका लागि विनियोजन गरिएको बजेट अपर्याप्त देखिन्छ । संस्थानको स्रोत न्यून हुँदा सांस्कृतिक जात्रा, परम्परालाई निरन्तरता दिनका लागि वैकल्पिक स्रोत पनि बलियो देखिँदैन । धेरै संस्कृति, परम्परागत कला जीवित राख्न स्थानीय कलाकार र कालीगढलाई प्रोत्साहन गर्ने स्थानीय स्रोत पनि सीमित छ । कतिपय ठाउँमा गुठी र स्थानीय कोषबाट गर्जो टार्ने काम भइरहेको छ । तथापि धेरै जात्रा र परम्परा अर्थ अभावकै कारण रोकिएका छन् । राज्यले विभिन्न क्लबका नाउँमा बजेट छर्ने काम गर्छ तर एकद्धार प्रणालीमार्फत स्रोत परिचालन गर्न सकेको छैन । गुठी संस्थानबाहेक राज्यका निकायबाट सांस्कृतिक संरक्षणका लागि दिइने बजेटहरू मूल कामभन्दा सहायक कार्यमा प्रयोग हुने गरेका छन् । राज्यका निकायबाट धर्म परम्पराका लागि उपलब्ध गराइने बजेटहरू गुठी संस्थानमार्फत एकद्वार प्रणालीमा गर्न नसक्दा संस्कृति संरक्षणमा चुनौती थपिएको देखिन्छ ।
विविधतामा एकता नै नेपालको पहिचान पनि हो तर पछिल्लो समयमा भएका राजनीतिक दुष्प्रचारलगायतका कारणले सबैको हरेक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । जसको पहिलो सिकार सांस्कृतिक अतिक्रमण पनि हो । गुठी जग्गामाथिको बढ्दो अतिक्रमण, मठमन्दिरमा देखिएको राजनीतीकरण साथै नियमित रूपमा मठमन्दिरमा पूजापाठमा देखिएका समस्याले संस्कृति जगेर्नामा अवरोध सिर्जना भएको छ । परम्परागत जीवनशैलीमा सहरीकरणका कारण गाउँदेखि सहरसम्म परम्परागत कला, शिल्प र संस्कार हराउँदै गएका छन् । नयाँ पुस्ता परम्परागत मूल्यभन्दा आधुनिक जीवनशैली र औद्योगिकीकरणप्रति आकर्षित देखिन्छन्, जसले संस्कृतिको निरन्तरतामा बाधा पुर्याएको छ ।
संस्कृति संरक्षणका लागि राज्यको बजेट पर्याप्त छैन । मठमन्दिरको मर्मत, लोककला संरक्षण परम्पराको संरक्षण र सांस्कृतिक कार्यक्रम सञ्चालन जस्ता काम आर्थिक अभावका कारण ओझेलमा परेका छन् । सरकारको नियमित र अनिवार्य दायित्व व्यवस्थापन गर्नका निम्ति स्रोतको अभाव भइरहेको छ । संस्कृतिको जगेर्नाको एक मात्र आधारको रूपमा रहेको गुठी संस्थान माथि सङ्घ प्रदेश र स्थानीय सरकारले दबदबा गरी गुठीका मुख्य आम्दानीका रूपमा रहेका जग्गा जमिन राज्य तथा नागरिकबाट अतिक्रमणमा पर्नु र आम्दानी नगन्य रूपमा हुँदा संस्थानले मठमन्दिरमा धूप बाल्नेदेखि अन्य कार्य गर्न नसक्दा संस्थानलाई सबलीकरणमा लैजानका लागि राज्यले प्राथमिकतामा नराख्दा संस्कृति संरक्षणमा चुनौती थपिएको छ ।
संस्कृति हाम्रो पहिचान हो भन्ने ज्ञानको अभाव पनि देखिँदै गएको छ । विशेष गरी युवा पुस्तामा आफ्नो मौलिक संस्कृतिभन्दा बाह्य संस्कृतिप्रतिको आकर्षण छ । त्यस्तै, कतिपय अभिभावकमा पनि संस्कृतिलाई अनावश्यक दायित्वका रूपमा बुझ्ने बानी छ । यसको मूल कारण विद्यालय र समुदायस्तरमा परम्परा र संस्कृतिबारे पर्याप्त ज्ञान र शिक्षा प्रदान नहुनु नै हो । गुठी व्यवस्थाको विषयमा विद्यालय स्तरमा नै पाठ्यक्रममा राखी अध्ययन अध्यापन गराउन नसक्नु पनि संस्कृति संरक्षणमा राज्य उदासीनको ज्वलन्त उदाहरण हो । विकास र आधुनिकताको नाममा सांस्कृतिक सम्पदालाई कम प्राथमिकता दिँदै आएको छ । जसले गर्दा क्रमशः नेपालको मौलिक संस्कृति हराउँदै गएका छन् । जसरी समुदाय यसप्रति जिम्मेवार हुनुपर्ने हो त्यसै गरी स्थानीय तह पनि जिम्मेवार र जवाफदेही हुन आवश्यक छ । आफ्नो क्षेत्रमा कुन जाति, धर्म र समुदायको बसोबास गर्छन् । उनीहरू संस्कृति र परम्परा संरक्षणका निम्ति कति जागरुक छन् भन्ने बारेमा पनि स्थानीय तहका नेतृत्व तह सचेत हुन जरुरी छ ।
निष्कर्ष
विद्यालयस्तरमा सांस्कृतिक शिक्षालाई प्राथमिकता दिने, समुदायस्तरमा प्रशिक्षण र कार्यशाला सञ्चालन, स्थानीय चाडपर्व र परम्परालाई थप व्यवस्थित गर्नु पर्छ । नेपालको मौलिक संस्कृति संरक्षणमा आर्थिक स्रोत, जनचेतना, र आधुनिक प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण छ । आर्थिक स्रोतको अभाव र आधुनिकताप्रतिको अतिविश्वासले चुनौतीहरू उत्पन्न गरिरहेको भए पनि सही रणनीति, स्रोतको कुशल उपयोग, र प्रविधिको सदुपयोगले यी समस्या समाधान गर्न सकिन्छ । संस्कृति सम्पदा संरक्षणका लागि राज्यले गुठी संस्थानलाई सबलीकरणमा लैजानु अति आवश्यक छ । हाल रहेका विभिन्न कोष, क्षेत्र विकास समिति, गुठी संस्थान, पुरातìव विभाग, संस्कृति महाशाखालगायतका निकायलाई एकीकृत गरी विशेष प्रकारको संरचना बनाउन आवश्यक छ । सांस्कृतिक धरोहर केवल हाम्रो पहिचान मात्र होइनन्, भविष्यका पुस्ताका लागि सन्देश र सम्पत्ति हुन् ।