• ४ भदौ २०८१, मङ्गलबार

लोपोन्मुख माछा कोशीमा भेटियो

blog

विवेक मिश्र

बेलबारी (मोरङ), ४ भदौ । कोशीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । कोशी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि जनाइएको छ । 

क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ । जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ । 

अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले उक्त माछा नेपालमा भेटिएको पुष्टि गर्नुभयो । 

पाँच जनानेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरु वाङ हुई, जिनक्वान याङ र चेनहोङ् लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगष्टमा सोसम्बन्धी लेख प्रकाशित छ । 

अनुसन्धानकर्ता जसहाङ लिम्बू भन्नुभयो, “माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमूना सङ्कलन गरेका थियौँ । सोही क्रममा उक्त माछा कोशी ब्यारेज क्षेत्रमा विस्तारै बगिरहेको पानीमा भेटिएको थियो । यसको बाहिरी तथा आणविक बनावटका साथै वंशवृक्षको अध्ययनबाट यो नेपालको लागि नयाँ र विश्वबाटै लोप हुन लागेको प्रजाति रहेछ पाइएको छ ।”

उहाँहरुले अध्ययनका लागि तमोर र कोशीदेखि पूर्वका स्थायी प्रकृतिका सबैजसो नदीमा कम्तीमा ४५ स्थानबाट सात सय वटा नमूना सङ्कलन गरिएको जानकारी दिनुभयो । उक्त नमूनामध्ये एउटा सङ्कटापन्न प्रजातिको माछा भेटिएको हो । 

अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले २९ वटा प्रजातिको पञ्जीकरण गरिएको र एउटा प्रजाति नेपालका लागि नयाँ भएको पाइएको बताउनुभयो । 

नेपालका लागि नयाँ भनिएको अर्को प्रजातिको वैज्ञानिक नाम  इरेथिस्टेस सिकुलाहो । यो पनि कोशी नदी र मोरङको लोहन्द्रा नदीमा पाइएको थियो । यो माछा नदीको तीव्र गतिमा बग्ने भागमा पाइएको उहाँले बताउनुभयो । 

उक्त सिकुला माछालाई पनि आइयुसिएनले ‘तथ्याङ्क अभाव’ भएको सूचीमा राखेको छ । यी दुवै माछा कोशी नदीमा प्रशस्त पाइने र स्थानीय व्यवसायीले दोहन गरिरहेको अवस्था रहेको उहाँले बताउनुभयो । 

अनुसन्धानकर्ता लिम्बूले भन्नुभयो, “यस्तो दुर्लभ माछालाई करेन्ट लगाएर मार्ने गरेको पाइयो । यी दुवै माछा खानका लागि लोकप्रिय मानिन्छन् ।”

अनुसन्धानकर्ता अधिकारीका अनुसार लोपोन्मुख प्रजाति नेपालमा प्रशस्त सङ्ख्यामा पाइनु खुसीको कुरा भएको बताउनुभयो । उहाँका अनुसार एमब्लिसेप्स जातिका तीन प्रजाति मङ्गोइज, अरुणाचलेन्स् र वाइखोमी नेपालमा पाइने पुष्टि भएको छ । अरुणाचलेन्सलाई पहिला मङगोइज हो भनेर विश्वास गरिएको थियो । 

एक दशक अघि नेपालमा पाइने भनेर लेखिएका प्र्रजातिको पहिचानमा त्रुटि भेटिएकाले अहिले डिएनए बारकोडिङबाट यथार्थता पहिचान गर्ने प्रयास गरिएको लिम्बूको भनाइ छ ।

तथ्याङ्कअनुसार नेपालमा पाइने माछामध्ये यस अघिसम्म तीन वटा प्रजाति अति सङ्कटापन्न र शहर माछा सङ्कटापन्नको सूचीमा थियो । अब एम्ब्लिसेप्स अरुणाचलेन्स् पनि सङ्कटापन्नको सूचीमा थपिएको होे। 

खोजकर्ताको उक्त टोलीले दुई वर्षमा माछाका यी दुईसहित छ वटा प्रजाति नयाँ प्रजाति पत्ता लगाइसकेको छ । रासस