• १८ पुस २०८१, बिहिबार

कोशी प्रदेश सभा बैठक भदौ १४ गते बस्ने

blog

गोकुल पराजुली
विराटनगर, भदौ ४ गते । 
कोशी प्रदेश सभाको बैठक यही भदौ १४ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले मङ्गलबार अपराह्न सूचना प्रकाशन गरेर बैठक बस्नेबारे जानकारी दिएको हो ।

गत असार ८ गते बजेट पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको कोशी प्रदेश सभा बैठक दुई महिनापछि बस्न लागेको हो । साउन पहिलो साता बैठक बस्ने आन्तरिक सहमति गरी स्थगित भएको प्रदेश सभाको बैठक सत्ता गठबन्धनमा आएको फेरबदलका कारण लामो समयसम्म बस्न नसकेको हो ।

लामो समयदेखि बैठक नबसेपछि बाढी, पहिरो तथा प्राकृतिक विपद् र अन्य जनसरोकारका विषयमा जनताका प्रतिनिधिहरूले सदनमा बोल्न नपाएको भन्दै नेकपा (माओवादी केन्द्र)ले दुई साताअघि नै प्रदेश सभाको बैठक बोलाउन माग गरेको थियो । त्यसपछि आइतबार नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले पनि अविलम्ब प्रदेश सभाको बैठक माग गर्नुभएको थियो ।

प्रमुख प्रतिपक्षी दल र सरकारको नेतृत्व गरिरहेको दलकै तर्फबाट दबाब आएपछि सभामुख अम्बरबहादुर विष्टको निर्देशनमा मङ्गलबार प्रदेश सभा सचिवालयले भदौ १८ गते बस्ने गरी बैठक बोलाउने सूचना जारी गरेको थियो । झण्डै १५ दिनको समय दिएर बैठक बस्ने सूचना सार्वजनिक गरेको प्रदेश सभा सचिवालयले आधा घण्टापछि फेरि दोस्रो सूचना प्रकाशित गरेर भदौ १४ गते बैठक बस्ने जनाएको हो ।

प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)को समर्थन कायमै रहेको र नेपाली कांग्रेस पनि सरकारमा सहभागी नभइसकेको अवस्थामा कांग्रेसलार्य संसद्को सत्ता वा प्रतिपक्ष कता राख्ने भन्ने अन्यौलता कारण सभामुख विष्टले प्रदेश सभाको बैठक बोलाउन आनाकानी गर्दै आउनुभएको थियो । प्रदेश सरकारका मुख्यमन्त्रीले पनि बैठक बोलाउन स्पष्ट आग्रह नगरेका कारण लामो समय प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।

कोशी प्रदेश सरकारमा सहभागी भएको दल माओवादी केन्द्र साउन ११ गते नै सरकारबाट बाहिरिएर विपक्षमा बस्ने बताइसकेको थियो । त्यस लगतै कांग्रेस सरकारमा सहभागी हुने अपेक्षा गरिएकोमा त्यसपछिको २७ दिनसम्म पनि कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छैन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्रै कांग्रेस सरकारमा सहभागी हुने बताउँदै आउनुभएको छ । कांग्रेससँग मन्त्रालयको विषयमा सहमति भइसकेको भए पनि आफ्नै आन्तरिक कारणले कांग्रेस सरकारमा सहभागी नभएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । अब प्रदेश सभा बैठक अगाडि नै कांग्रेस सरकारमा सहभागी हुने विश्वास एमालेले लिएको छ ।

सभामुख विष्टले भने कांग्रेस सरकारमा सहभागी नभएको र उसलाई सत्तापक्षमा राख्ने कि प्रतिपक्षमा राख्ने समस्या हुने भन्दै बैठक राख्न आनाकानी गर्दै आएका थिए । तर एमालेका सांसदहरूले पनि बैठक राख्न दबाब दिएपछि सभामुखले बैठक बोलाएका छन् ।

यसअघि एमाले प्रमुख सचेतक भण्डारीले दुईवटा विधेयकसँगै जनसरोकारका धेरै विषय छलफल गर्नुपर्ने भएकाले बैठक बोलाउनुपर्ने बताउनुभएको थियो ।

बजेट कार्यान्वयनको विषय, दैवी प्रकोपबाट प्रदेशमा भएको क्षति र जनसरोकारका विषयमा छलफल गर्नुपर्ने भन्दै माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो साता नै तत्काल प्रदेशसभाको बैठक राख्न माग गर्नुभएको थियो ।