• २ माघ २०८१, बुधबार

सङ्घीयताबिना जनताको अधिकार सुनिश्चित नहुने

blog

तस्बिर : रासस

कर्णाली, भदौ ४ गते । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले सङ्घीयताबिना जनताका अधिकार सुनिश्चित नहुने बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेतमा आयोजित समारोहमा उहाँले जनताको बलिदानबाट संविधान र सङ्घीयता प्राप्त भएको बताउनुभयो । 

प्रदेश प्रमुख जोशीले भन्नुभयो, “कर्णाली अधिक साधन स्रोतले भरिपूर्ण प्रदेश हो । यसको भरपुर उपयोग हुन जरुरी छ । भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल कर्णालीको विकासमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।” कृषि, प्राकृतिक,सांस्कृतिक र साहसिक पर्यटनका माध्यमबाट कर्णालीलाई समृद्ध तुल्याउन सकिने बताउनुभयो । 

मुख्यमन्त्री यामलाल कँडेलले जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको बलिदानपूर्ण योगदानको स्मरण गर्दै उहाँहरूका परिवारका एक-एक जना सदस्यलाई रोजगारीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिनुभयो । सीमाङ्कनको विषयलाई लिएर  २०७२ साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा जुम्लाका कुँवर, बिसी, गौतम र रजवारको निधन भएको थियो । 

सहिद तथा प्रदेश स्थापना दिवसका अवसरमा मुख्यमन्त्री कँडेलसहित मन्त्रीहरूले प्रादेशिक सहिद पार्कमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । कर्णालीलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका जाजरकोटका पत्रकारद्वय राजेन्द्र कार्की र यज्ञबहादुर खत्री र कालीकोटका तुलराम पाण्डेलाई जनही ५० हजार प्रदान गरिएको छ । कर्णाली प्रदेश अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्कालाई सर्वोत्कृष्ट र अन्य दश कर्मचारीलाई उत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको छ । रासस