• ११ मंसिर २०८१, मङ्गलबार

सगरमाथा लोकमार्गमा फसेको बस

blog

सगरमाथा लोकमार्गमा फसेरको बस । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, भदौ ४ गते । 
सगरमाथा लोकमार्गअन्तर्गत गाइघाट–दिक्तेल सडकखण्डमा यात्रुवाहक बस फसेको छ । बस रोकिएको ठाउँमा तलबाट पहिरो जाँदा बस जोखिममा परेको हो । 

बस रोकिएको ठाउँ मुनीबाट पहिरो गएपछि बसको पछाडिको चक्का सडक मुनी झरेको छ । एउटा चक्कासमेत सडक मुनी झरिसकेकाले थप पहिरो गएमा बस पल्टिने अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सोमबार गाईघाटबाट दिक्तेल आएको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित साँगुरी भन्ज्याङमा फसेको हो । सोमबार अपराह्न ४ बजे बस फसेको पाइएको विजयखर्कका वडा सदस्य युवराज कार्कीले बताउनुभयो ।

पहिले पहिरो गएको उक्त सडकमा जोखिम मोलेर चालकले सडक पार गर्न खोजिएको बताइएको छ । तर बिचमा पुगेपछि माथिबाट ढुङ्गा झरेकाले सवारी चालकले बस त्यही भाँडेर निस्किएको पाइएको वडा सदस्य कार्कीले बताउनुभयो । राती थप सडक मुनीबाट पहिरो गएपछि बस जोखिममा परेको उहाँको भनाइ छ । आठ/नौ जना यात्रु बोकेर आएको उक्त बस फसेपछि यात्रुहरू आइतबार बेलुका नै त्यहाँबाट हिँडेर गन्तव्यतिर गएका छन् ।

पहिरोको जोखिममा फसेको बस निकाल्न जेसिबि आवश्यक रहेको कार्कीले बताउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जेसिबि बस निकाल्न आउने जानकारी पाएको उहाँको भनाइ छ । तर सामान्य हलचल भए मात्र बस पल्टिने जोखिम रहेको छ । त्यहाँबाट बस पल्टिएमा करिब ५० मिटर तल झर्ने अवस्था देखिएको छ ।

सगरमाथा लोकमार्गअन्तर्गत पर्ने उक्त सडक कालोपत्रे गर्ने ठेक्का लागेपनि ठेकेदारले सममयमा काम नगर्दा सडकको अवस्था जीर्ण भएको हो । हाल उक्त सडकको ठेक्का तोडेर अर्को ठेक्का खोलिएको छ । खोटाङका नागरिक एवम् उक्त सडकमा यात्रा गर्ने यात्रुहरू जोखिम मोलेर यात्रा गरिरहेका छन् ।