• १० मंसिर २०८१, सोमबार

खुसी हुने कि दुःखी ?

blog

हालै अस्ट्रेलियाले आफ्नो देशमा अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीको प्रवेश अनुमतिपत्र (भिसा) मा कडाइ गर्न थालेको छ भन्ने समाचार प्रकाशमा आएको छ । नेपालबाट अस्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीमध्ये गत वर्षको तुलनामा यस वर्ष आधाले पनि भिसा पाएनन् । अझ प्राविधिक विषयमा अध्ययन गर्नका लागि आवेदन दिने विद्यार्थीको अनुपात हेर्ने हो भने पहिलेको तुलनामा यो वर्ष निकै थोरैले मात्र यस्तो अनुमति प्राप्त गरे । 

नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी वैदेशिक विश्वविद्यालयमा जाने क्रम प्रतिवर्ष बढ्दै गएको तथ्याङ्कले देखाउँछ । अन्य मुलुकको जस्तै नेपाली विद्यार्थीले पनि विकसित मुलुकका राम्रा विश्वविद्यालयमा अध्ययन गरेर प्रतिस्पर्धात्मक विश्वबजारमा आफूलाई स्थापित गराउने चाहना राख्नु स्वाभाविक मात्र होइन, मुलुकले गर्व गर्ने विषय पनि हो ।

अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, फ्रान्स, जर्मनी, जापानलगायत देशमा नेपाली विद्यार्थी जाने गर्छन् । पहिलो कुरा त यी देशमा सिकाइको स्तर राम्रो छ । शैक्षिक संस्था तालिका अनुसार सञ्चालित हुन्छन् । समयमा परीक्षा सम्पन्न भएर छिट्टै परिणाम आउँछ र काम गर्दै पढ्न पाइन्छ भन्ने विषयले नै नेपाली विद्यार्थीलाई आकर्षित गरेको छ । अर्को कुरा भनेको पढाइ सकेपछि योग्यता र क्षमता अनुसारको काम पाइन्छ भन्ने पनि हो । यही सुनौलो आशा र भरोसा बोकेर बर्सेनि लाखौँ नेपाली युवा बिदेसिँदै छन् ।

अर्को पाटो भनेको नेपाली युवा अन्तर्राष्ट्रिय श्रमबजारमा कामको खोजीमा जान्छन् । काममा जाने नेपालीमध्ये धेरै जसो खाडीका देश, मलेसिया, इजरायल, दक्षिण कोरिया, जापान र युरोपलगायत देशमा पुग्ने गर्छन् । यी देशमा जाने अधिकांश नेपाली कामदार शिक्षा, सिप, दक्षता, क्षमता र अनुभवका दृष्टिले निकै कमजोर हुने भएकाले यिनीहरूले जति श्रम र समय खर्चिन्छन्, सो अनुसारको पारिश्रमिक पाउँदैनन् । यस्ता कामदारलाई उल्लिखित देशका श्रमबजारमा यहाँ रहेका विभिन्न कम्पनी र एजेन्टले पु¥याउने गर्छन् लागतभन्दा बढी रकम लिएर । 

इजरायल, कोरिया, जापान जस्ता देशमा कामदार पठाउन सरकारले केही सहजीकरण गर्न खोजे पनि कामदार ठगिने कुरामा खासै कमी आउन सकेको देखिँदैन । विश्वका विभिन्न मुलुकमा अहिले ३५ लाखभन्दा बढी नेपाली युवा मजदुरी गरिरहेका छन् । तीमध्ये अधिकांश युवा अदक्ष रहेकाले अन्य देशका कामदारभन्दा कम ज्याला लिएर काम गरिरहेका छन् । यिनै युवाले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्र धानिएको छ । अत्यावश्यक दैनिक उपभोग्य वस्तुसमेत आयात गर्नुपर्ने अवस्थामा रहेको देशको वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत भनेको विप्रेषण नै हो । हाम्रा युवा प्रतिकूल अवस्था हुँदाहुँदै पनि दुःखकष्ट सहेर वैदेशिक रोजगारीमा खटिएका छन् । त्यसैले त आवश्यक वस्तु आयात गर्न चाहिने विदेशी मुद्राको जोहो हुन सकेको छ । अन्यथा हाम्रो हालत पनि दुई वर्षअघिको श्रीलङ्काको जस्तै हुने थियो औषधी किन्न पनि नसकिने ।

युवा संसारका उत्कृष्ट महाविद्यालय, विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न जानु; ज्ञान, सिप र प्रविधिमा दक्षता हासिल गर्नु; आफ्नो योग्यता, दक्षता र सिप अनुसारको वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्न पाउनु भनेको मुलुकका लागि एक हिसाबले खुसीको कुरा हो । विषय यतिमा मात्र सीमित रहेको देखिंदैन । युवा समुदायको विदेश पलायनले मुलुकमा परिरहेको असरको लेखाजोखा गर्ने हो भने त्यो त्यति नै नकारात्मक र दुःखदायी देखिन्छ ।

सङ्गीतका माध्यमद्वारा धेरै नेपालीको ध्यानाकृष्ट गर्न सफल लोकप्रिय गायक शिशिर योगीले गाउनुभएको ‘बोल्ने कोही छैन, गाउँमा बोल्ने कोही छैन, पाहुना आउँदा घरको ढोका खोल्ने कोही छैन’ भन्ने गीतले उजागर गर्न खोजेको विषय, दिन खोजेको सन्देश मार्मिक र यथार्थको नजिक छ हाम्रो समाजको सन्दर्भमा ।

देश दिनप्रतिदन आयातमुखी बन्दै गएको छ । हिजोसम्म खाद्यान्नलगायत कतिपय क्षेत्रमा हामी जति आत्मनिर्भर थियौँ, त्यो अवस्था आज छैन । हाम्रा खेतबारी, पाखापहरा खेती गर्ने जनशक्तिको अभावमा बाँझै छन् । गाईभैँसी, भेडाबाख्रा, घोडा, खच्चड र चौँरी, याकले भरिभराउ हुने हाम्रा गोठ, तबेला र खर्क सुनसान छन् । गाउँमा आफूले रोपेर, फलाएर खाने भन्ने कुरा परै जाओस्; 

वनजङ्गलमा फलेका फलफूल, कन्दमूल टिपेर, खनेर ल्याउन सक्ने मान्छे छैनन् । गाउँठाउँका करेसाबारी मात्र रित्ता छैनन्, गाउँ, टोल, बस्ती बिस्तारै रित्ता बन्दै छन् । बस्ती भएका ठाउँमा पनि बस्ने भनेका प्रायः वृद्धवृद्धा र अशक्त मात्र छन् ।

गाउँघर, समाजका रीतिरिवाज, परम्परा, चाडपर्व, मेलाजात्रा मनाउने मान्छेका अभावमा क्रमशः लोप हुँदै छन् । बिहाबारी, मर्दापर्दाका संवाहक युवकयुवती नहुँदा सामाजिक व्यवहार चलाउन पनि अप्ठ्यारो पर्दै गएको छ । बिरामी, सुत्केरी हुँदा होस् वा प्राकृतिक प्रकोपजन्य घटना घट्दा तत्काल उद्धार गरी स्वास्थ्य चौकी, अस्पतालसम्म पु¥याउने मान्छेको अभाव हुन थालेको छ ।

उच्च शिक्षित, शिक्षित वा सामान्य पढेलेखेका जनशक्तिको उचित व्यवस्थापन गर्न नसक्दा, उनीहरूको भविष्य रोजगारीका दृष्टिले स्वदेशमै सुरक्षित छ भन्ने प्रत्याभूत गर्न नसक्दा पढ्न वा रोजगारीका निमित्त विदेश गएका २०–२५ वर्षका युवामा सकेसम्म उतै बस्ने, नभए बसाइ अवधि लम्ब्याउने प्रवृत्ति बढ्दै गएको छ । यसको प्रत्यक्ष असर जनसङ्ख्या वृद्धिमा देखिन थालेको छ । त्योभन्दा भयावह स्थिति परिवार विखण्डनको रहेको छ । श्रीमान्, श्रीमतीमध्ये एक जना विदेशमा हुँदा यहाँ हुनेले अर्कै विवाह गर्ने, विदेश गएका महिला कामदार यौन हिंसामा पर्नेलगायतका कारण समाजमा विसङ्गति र विकृति बढ्न थालेका छन् । यी भनेका समाजका दुःखद, मार्मिक र संवेदनशील पक्ष हुन्, जसलाई राज्यले अनदेखा गर्न मिल्दैन ।

वैदेशिक बसाइ चाहे त्यो स्थायी होस् वा अस्थायी, सोचे जस्तो सुखद हुँदैन भन्ने कुरा बस्नेलाई थाहा छ किनभने हरेक व्यक्तिलाई मातृभूमि प्यारो हुन्छ तर पनि किन तिनीहरू प्रवासमै बस्न बाध्य छन् ? यसको कारण खोजियो र समाधानतर्फ लागियो भने केही हदसम्म विदेशमा रहेका व्यक्ति फर्किन सक्छन् र यहाँ रहेकाको सोचाइ पनि सकारात्मक बन्न सक्छ ।

बेलायतमा चलिरहेको रङ्गभेदी, नस्लभेदी आन्दोलन होस् वा बङ्गलादेशमा भइरहेको हिंसात्मक आन्दोलनको केही न केही छिटा त्यहाँ रहेबसेका नेपालीलाई पनि परिरहेको छ । इजरायल–हमास युद्धमा निर्दोष नेपालीले ज्यान गुमाउनु प¥यो । विपिन जोशी जस्ता युवक अहिले पनि बन्दी अवस्थामा छन् । रुस–युक्रेन युद्धमा दुवैतिरबाट नेपाली मारिएका छन् । यस्ता घटना संसारका अन्य ठाउँमा पनि घटिरहेका छन् र घटिइरहने छन् । यस्तो अवस्थामा अस्ट्रेलियालगायत देशमा नेपाली विद्यार्थीले भिसा नपाएको समाचार होस् वा कुनै देशमा नेपाली कामदारको माग कम भएको वा माग नै हुन छोडेको समाचरबाट स्वदेशमै बस्नु पर्छ, यहीँ बसेर यहाँका विकृति, विसङ्गतिविरुद्ध लड्नु पर्छ, आफ्नो श्रम र पसिना देशका निम्ति बगाएर गरिखाने वातावरण बनाउनु पर्छ भन्ने चाहना, सोचाइ र मान्यता राख्ने नेपाली खुसी हुने कि दुःखी ?  

Author

टीकाराम घिमिरे