• १० मंसिर २०८१, सोमबार

रक्षाबन्धनको बहुआयामिक दृष्टि

blog

संस्कृतमा यज्ञोपवीत नामले चिनिने जनै धारणलाई विशेष महत्व दिइन्छ । ज्ञान, कर्म, रक्षा एवं स्नेहको प्रतीक जनै पूर्णिमाका दिन धारण गरिने भएकाले यसलाई ऋषितर्पणी, ऋषिपूर्णिमा पनि भनिन्छ । जनैलाई एउटा पवित्रताको प्रतीक मानिएको छ, जसको धार्मिक, सांस्कृतिक महत्व रहेको छ । जनै धारण गर्दा र रक्षाबन्धन बाँध्दा शरीरको रोगव्याध निको हुने र रक्षा पनि हुने विश्वास छ । यसदिन दिदीबहिनीले दाजुभाइको रक्षार्थ स्नेहपूर्वक नाडीमा ‘राखी’ बाँध्ने चलन सर्वत्र छ, जसले आपसी सम्बन्धलाई पनि प्रगाढ बनाउँछ । दाजुभाइको आयु, आरोग्य र मङ्गल कामना गर्ने राखीले तिहारकै झल्को दिने गर्छ । पवित्र गायत्री मन्त्र उच्चारण गरी विभिन्न धार्मिक कार्यका साथ जनैपूर्णिमा मनाइन्छ । यसै समयमा नाडीमा बाँधिने पहेँलो डोरीले ज्ञात अज्ञात विभिन्न खतरा तथा त्रासबाट बचाउँछ भन्ने मान्यता छ । हिन्दु तथा बौद्ध धर्मावलम्बी एवं विशेष गरी नेवार समुदायले क्वाँटीको स्वादिलो परिकार खाएर यो पर्व मनाउने चलन छ । यसै दिनमा गौतम बुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर ललितविस्तरमा उल्लेख छ, तसर्थ पनि बौद्धमार्गीका लागि पनि महत्वको दिन हो ।

जनै अर्थात् रक्षाबन्धनको प्राचीनता तथा महत्व ज्यादै पुरानो देखिन्छ, यसलाई विशेष महत्व दिई पुरुषले लगाउँछन् भने महिलाले ‘राखी’ का रूपमा नाडीमा बाँधने गर्छन्, जनै धारणलाई शरीरको चेतना, बौद्धिकता तथा ब्रह्माण्डीय शक्तिको प्रतीक मानिन्छ । दिदीबहिनीले दाजुभाइलाई स्नेहपूर्वक विभिन्न उद्देश्यका साथ नाडीमा ‘राखी’ बााधने चलन छ, जसले आपसी स्नेह, माया, ममताको भाव झल्काउँछ । यज्ञोपवीतको नौ तन्तुमा विभिन्न नामका नौ देवताको आह्वान गरिन्छ, प्रथम तन्तुदेखि आह्वान गरिने ती देवताको नाम ऊँकार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम र विश्वदेव हो । जनैको ग्रन्थीमा ब्रह्मा, विष्णु, रुद्रको आह्वान हुन्छ ।

प्राचीनकालीन शिक्षा पद्धति गुरुकुलीय तथा बैद्धिक पद्धतिमा आधारित भएकाले एउटा शिष्यले गुरुकहाँ ज्ञान आर्जन गर्न लागिरहँदा विभिन्न धार्मिक कार्य गर्नु पर्दथ्यो, जसमा ज्ञान आर्जन प्राप्तिको प्रमुख संस्कारमा उपनयन पनि पर्दथ्यो । योग्य बालकलाई गुरुकुलमा भर्ना गरेपछि विभिन्न धार्मिक कार्य गर्ने क्रममा बालकलाई गुरुले जनै लगाइदिने प्रचलन थियो, जसलाई शास्त्रीय दृष्टिमा ‘यज्ञोपवित’ भनिन्थ्यो । जनै धारणसँगै सिकाइने गायत्रीमन्त्रले श्रद्धा, भक्ति, विश्वास तथा कृतज्ञताको भाव बोकेको हुनाले यसैका आधारमा गुरुले चेलालाई शिक्षित बनाउँथे । 

आयु, बुद्धि, तेज, बलको प्रतीक मानेर धारण गरिने जनैलाई रोग, शोक, अकाल मृत्युबाट सुरक्षित रहने चाहना र विश्वासका साथ शक्तिको प्रतीक मानेर पहिरने चलन सुरु भएको मानिन्छ । जनैमा हुने धागा तथा गाँठाहरूको आआफ्नै महत्व र प्रतीक रहेको मानिन्छ, तीन वटा डोरालाई ब्रह्मा, विष्णु तथा शिवको प्रतीक मानिन्छ, जुन आध्यात्मिक, आधिदैविक र आधिभौतिक जीवनसँग सम्बन्धित छन् । मातृपितृ श्राद्धदेखि लिएर अनेक धार्मिक कार्यमा जनैको महत्व रहेको छ, विभिन्न यज्ञ पूरा गरेपछि धारण गरिने यज्ञोपवीतको प्रयोगले जीवनमा अगाडि बढ्ने मार्ग प्रसस्त गर्ने विश्वास रहिआएको छ ।

यज्ञोपवितको सम्बन्धमा वेदमा विभिन्न कथा पाइन्छन्, जस अनुसार एक पटक देव र असुरले स्वर्ग जाने उद्देश्यले यज्ञ गर्न थाले । स्वर्गमा आफूहरू पहिले पुग्ने उद्देश्यले असुरहरूले बिनाविधि छिटो छिटो यज्ञ पूरा गरे, भने देवताले विधिविधानका साथ आवश्यक समय दिएर यज्ञ गर्दै गए । देवताभन्दा पहिले यज्ञ पूरा गरेर स्वर्ग जान हिँडेका असुरहरू स्वर्ग जाने बाटो नै थाहा नपाएर बाटोमै हराए । त्यसपछि शास्त्रीय विधिपूर्वक यज्ञ सम्पन्न गरिसकेपछि स्वर्गतर्फ हिँडेका देवता भने स्वर्गको बाटो पहिल्याएर सरासर स्वर्ग पुगे, यसरी असुरहरू पराजित र स्वर्ग जान असफल भए । देवताको यज्ञ विधिवत् सम्पन्न गर्ने मुख्य माध्यम ‘यज्ञोपवित’ नै थियो । असुरहरूले यसको बिनाप्रयोग नै यज्ञ अनुष्ठान गरेका थिए, तसर्थ उनीहरूको यज्ञ असफल भयो भने देवताहरूले यज्ञोपवीत धारण गरेर यज्ञ गरेकाले उनीहरू सफल भएको चर्चाबाट पनि जनैको महत्व झल्कन्छ ।

रक्षाबन्धनलाई बलि राजासँग जोडिएको कथाको प्रसङ्ग पनि विभिन्न स्रोतमा उल्लेख छ, जस अनुसार बलिराजाको शक्तिबाट देव– दानव सबै पराजित भएका थिए । बलिको प्रभाव जताततै भएको अवस्थामा विष्णु वामन रूप धारण गरेर बलिसँग जमीनको तीन पाइला मागेका थिए, यसमा महादानी दैत्यराज बलि राजी भएपछि विष्णुले एक पाइलाले पृथ्वी, दोस्रोले आकाश ढाके अर्को पाइला राख्नका लागि विष्णुले आग्रह गर्दा रक्षाको धागोले बाँधिएका बलिले आफ्नो वचन पूरा गर्न तेस्रो पाइला आफ्नै शिरमा राख्न लगाएपछि उनी पाताललोक पुगे । यसरी बलि पाताल पुगेपछि मात्र देवता सुरक्षित भएका थिए, यसबाट पनि रक्षाबन्धनको महìव भई रक्षासूत्र बाँध्ने चलन चलेको पाइन्छ । पौराणिक कथा अनुसार नै देवतालाई दबाउन दानवी शक्ति, प्रबल बनी सङग्राममा अघि सरी लामो समयसम्म युद्ध गर्दा पनि देवताको जित नभएपछि अन्त्यमा देवगुरु बृहस्पतिले श्रावण शुक्ल पूर्णिमाको बिहान सुरक्षाका लागि रक्षाविधान तयार पारी उक्त रक्षासूत्र इन्द्राणीलाई इन्द्रको नाडीमा बाँध्न लगाई बृहस्पतिले, “येन बद्धो बली राजा दानवेन्द्रो महाबलः । तेन मन्त्रेण बध्नामि रक्षेमा चल मा चल ।। “मन्त्र पाठ गरे जसको अर्थ हो “जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, उसैले म तिमीलाई बाँध्छु यसले तिमी सुरक्षित बन, विचलित नहोऊ” भन्ने हो । त्यसपछि देवताको विजय भयो सोही बेलादेखि रक्षाबन्धन बाँध्ने चलन चल्यो ।

यसै गरी प्राचीन कालदेखि नै दानवी शक्ति र दैवी शक्तिबिच हुने सङ्घर्षमा देवताहरूको जित हुनुको पछाडि पनि रक्षासूत्रले काम गरेको चर्चा पाइन्छ । आफ्नी पत्नी शचिले दानवहरूलाई पराजित गर्ने उपाय अनुसार इन्द्रलाई रक्षाविधान पूर्वक काँचो धागोलाई रङ्याएर ऋषिहरूबाट अभिमन्त्रित तथा पुरेतद्वारा ‘स्वस्ति’ वाचन गराई देवराज इन्द्रको दायाँ हातमा रक्षा धागो बाँधेपछि यसको प्रभावले दैत्यहरू युद्धभूमिबाट भागेको प्रसङ्गले पनि रक्षाकवचको महत्व झल्कन्छ । प्राचीन कालदेखि नै धागो बाँध्ने चलनको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महìव रहँदै आएको पाइन्छ । विभिन्न स्रोतमा उल्लेख भए अनुसार महाभारतको युद्धमा समेत पत्नीहरूद्वारा आफ्ना पतिलाई रक्षाकवचका रूपमा रक्षा सूत्र बाँध्ने चलन थियो । कुनै पनि नारीले कुुनै पनि पुरुषलाई ‘राखी’ बाँधेमा तिनीहरूबिच दाजु–बहिनी तथा दिदी–भाइका रूपमा सुमधुर तथा आत्मीय सम्बन्ध स्थापित हुने मान्यता रहिआएको छ ।

एक अर्काबिच सुमधुर सम्बन्ध स्थापित गराउने यस पर्वको धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्व रहेको छ । नेपाललगायत भारतका विभिन्न क्षेत्रमा जनैपूर्णिमा भव्य उल्लासका साथ मनाइन्छ । काठमाडौँको पशुपतिनाथस्थित बागमती किनार, गोसाइकुण्डलगायतका विभिन्न स्थानीय क्षेत्रका जलाशयमा स्नान गरी मन्त्र उच्चारणका साथ जनै फेर्ने गरिन्छ । गोसाइँकुण्डको प्रादुर्भाव भएको दिनलाई जनैपूर्णिमा मानिएकाले यस दिन त्यहाँ विशेष मेला लाग्छ । यस्तै अन्य मठ मन्दिरमा जनै फेर्ने, रक्षा बा“ध्ने, तथा श्रद्धा, आस्था, विश्वास गर्नेहरूको भिड लाग्छ । 

शुद्धता, पवित्रता तथा ज्ञान, बल, बुद्धि, शारीरिक तथा मानसिक रक्षार्थ बाँधिने रक्षाबन्धनका दिन ‘क्वाँटी’ खाने चलन सर्वत्र छ । कृषि कार्यको क्रममा वर्षायाममा स्वास्थ्य रक्षाका लगि विभिन्न प्रकारका अन्नका गेडागुडीलाई उमारेर पकाएपछिको झोलले शरीरको गर्मी उत्रिने, तागत आउने, शरीर स्वास्थ्यबर्धक हुने विश्वासका साथ मास, मुङ, चना, केराऊ, भटमास, बोडी, सिमी, गहत, राजमालगायतका अनाज भिजाएर टुसा उमारीएका गेडागुडी पकाएर खाने गरिन्छ । नेवार समुदायले यस दिनलाई विशेष हर्षोल्लासका साथ मनाउने गर्छन्, जसलाई ‘ब्याँचा नकेगु पुुन्ही’ भन्छन् र ब्याँचा (नेवारी भाषामा भ्यागुता) लाई पक्रेर घरमा ल्याई भोजन गराउँछन् । यसको अर्थ खेतबारी खनजोत गर्दा किराफट्याङ्ग्रा, भ्यागुता हलोकोदालोले काटिएर मर्ने हुँदा त्यसको प्रायश्चित स्वरूप भ्यागुतालाई खोजेर ल्याई तिनको पूजा गरी भोजन गराउने गरिएको हो । 

अर्को कथा अनुसार अदिकालमा घण्टाकर्ण भन्ने एउटा भयङ्कर राक्षसलाई कसैले मार्न नसकेपछि एउटा सानो भ्यागुताले भासमा पारी उसलाई मारेकोले बहादुरी र बुुद्धिको कदर गर्दै उसको गुुणको सम्झनामा भ्यागुुताको पूजा गर्ने र भोजन गराउने चलन चलेको हो । यसरी नेपाली समाजमा मनाइने विभिन्न पर्वले सामाजिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक महत्व बोकेका छन् । 

Author

झरेन्द्र बराल