• १६ भदौ २०८१, आइतबार

सडक दुई घण्टाभन्दा बढी अवरुद्ध हुन नदिइने

blog

काठमाडौँ, भदौ ३ गते । देशको कुनै पनि सडक बाढीपहिरोका कारण दुई घण्टाभन्दा बढी अवरुद्ध नहुने गरी व्यवस्था मिलाइएको छ । यसका लागि १३५ वटा यान्त्रिक उपकरण विभिन्न सडकखण्डमा तैनाथी अवस्थामा राखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । त्यसका साथै केन्द्रमा १२९ वटा उपकरण तैनाथीमा छन् ।

पदबहाली भएको एक महिनाको अवधिमा हासिल भएका उपलब्धिबारे जानकारी दिन आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सो जानकारी दिनुभएको हो । “पहिरोका कारण कुनै पनि सडक दुई घण्टाभन्दा बढी अवरुद्ध हुन दिँदैनौँ,” भन्दै मन्त्री दाहालले पहिरो हटाउन १२९ वटा उपकरण आवश्यकता अनुसार परिचालनका लागि विभिन्न क्षेत्रीय कार्यालयमा तैनाथ अवस्थामा राखिएको बताउनुभयो ।

त्यसै गरी वर्षाका कारण अवरुद्ध हुने सडक यातायातको प्रत्यक्ष (लाइभ) जानकारी मन्त्रीको कार्यकक्षमै हुने गरी ‘रोड क्लोजर अपडेट सिस्टम’ जडान गरिएको छ । उहाँले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भए गरेका कामकारबाहीको विवरणसहित २३ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको थियो ।

नागढुङ्गा–मुग्लिङ सडकखण्डमा प्रायः पहिरोको समस्या आइरहने भएकाले सो सडकखण्डलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै उहाँले यस सडकखण्ड पहिरो एक घण्टाभन्दा बढी समय अवरुद्ध हुन नदिने गरी प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।

सवारीचालक अनुमतिपत्रको व्यवस्थापन

मन्त्री दाहालले सवारीचालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी राष्ट्रिय परिचयपत्रबाट पनि सवारीचालक अनुमतिपत्रको विद्युतीय प्रति हेर्न सकिने व्यवस्था मिलाउन मन्त्रालयले आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो ।

त्यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबिच समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो । सवारीचालक अनुमतिपत्र छपाइको काम प्रदेशलाई पनि दिइने बताउनुभयो । 

उहाँले छपाइको लोडलाई कम गर्नका लागि सम्बन्धित प्रदेशमै छपाइ गरेर वितरण गर्ने व्यवस्था मिलाइने र चालकले अनुमतिपत्र नपाउन्जेलसम्मका लागि प्रयोग गर्ने रसिदलाई गुणस्तरीय बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशमातहतका यातायात कार्यालयबाट जारी हुने राजस्व रसिदलाई ‘हार्ड पेपर’ मा कार्डका रूपमा स्तरीकरण गरी रसिदमा नै ‘क्युआर कोड’ र तस्बिरसमेत अङ्कित हुने गरी रसिद उपलब्ध गराउने व्यवस्था गर्ने काम भइरहेको छ ।” 

मन्त्री दाहालले चालु आर्थिक वर्ष (२०८१/८२) को एक महिनामा मन्त्रालयले ४.११ प्रतिशत आर्थिक प्रगति हासिल गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस मन्त्रालयलाई चालु आवमा विनियोजन भएको बजेटमध्ये साउन मसान्तसम्म छ अर्ब १८ करोड रुपियाँ खर्च भई ४.११ प्रतिशत आर्थिक प्रगति हासिल गरेको छ ।