• २ भदौ २०८१, आइतबार

जनताको जिउधनको रक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ : महामन्त्री शर्मा

blog

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा ।

विष्णुप्रसाद पोखरेल

दमक, भदौ २ गते। नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले जनताको जिउधनको रक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ४ स्थित मंगलबारेमा आइतबार प्रहरी चौकीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

जनताले ढुक्कसँग हिँडडुल गर्न र आनन्दसँग निदाउन पाउने अवस्था ल्याउन जरुरी रहेको बताउनुभएको हो। 

शर्माले सीमित श्रोत र साधनका बाबजुद पनि सुरक्षाकर्मीले काम गरिरहेको जनाउनुभयो। ‘‘समाजमा शान्ति सुरक्षा कायम गर्न र विकृति हटाउन हामी सबैको एकता तथा सहकार्य आवश्यक छ’’, उहाँले भन्नुभयो।

स्थानीयले लामो समयदेखि यस क्षेत्रमा प्रहरी चौकी स्थापनाको माग गर्दै आएका थिए। चोरीका घटना हुने गरेको बताउँदै स्थानीयले चौकी माग गरेपछि प्रहरी सहायक निरीक्षक सहितको टोली यहाँ बस्न सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले बताउनुभयो।