• १० मंसिर २०८१, सोमबार

पाप पखाल्न छायाँनाथ धाम

blog

छायाँनाथ तीर्थस्थल फेदमा रहेका ढुङगाको प्राचीन मन्दिर । तस्बिरः हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी 

मुगु, भदौ २ गते । काठमाडौँको पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ र भारतको केदारनाथसँगैको अर्को नाम हो छायाँनाथ धाम । हिन्दु धर्मका यी महत्त्वपूर्ण चार धाम मध्येको छायाँनाथ भने अरूभन्दा ओझेलमा छ । 

नेपालकै दुर्गम मुगुको दुर्गम क्षेत्रमा यो धाम अवस्थित छ । चारधामका आ–आफ्नै विशेषता छ । त्यसमध्ये छायाँनाथमा पाप पखालिने विश्वास रहेको पुजारी पूर्णप्रसाद चौलागाईंले बताउनुभयो । पुजारी चौलागाईंका अनुसार छायाँनाथ धाममा हरेक वर्ष जनैपूर्णिमाका बेला मन्दिर खुल्ला हुने भएकाले यहाँ घुइँचो लाग्ने गर्छ । 

अरू बेला यो धाम सुनसान हुन्छ । मुगुमकार्मारोङ गाउँपालिकाको डोल्पुगाउँको वन क्षेत्रभित्र पर्ने छायाँनाथ तीर्थस्थल समुद्र सतहबाट पाँच हजार मिटरको उचाइमा अवस्थित छ । चिसोका कारण पनि डोल्पुगाउँको छायाँनाथ मन्दिरमा अरू बेला भक्तजन पुग्न सक्दैनन् । दुर्गमको छायाँनाथकै प्रतिमा जिल्ला सदरमुकाम गमगढीबाट नजिक पर्ने चैना गाउँमा मन्दिर बनाएर स्थापना गरिएको छ । नित्य, पूजाआजा सदरमुकामकै चैनागाउँको छायाँनाथ मन्दिरमा हुन्छ ।

छायाँनाथका बारेमा धार्मिक कथा स्वस्थानीमा समेत उल्लेख रहेको पुजारी चौलागाईंले बताउनुभयो । उहाँकै भनाइमा छायाँनाथमै सतीदेवीको अन्तिम अङ्ग नाभि पतन भएको थियो छायाँनाथमा । “अन्तिम अङ्ग यस तीर्थस्थलमा खसेको हुँदा यहाँ पिचाश्वर महादेव उत्पत्ति भएकाले अन्य धामभन्दा छायाँनाथलाई जेठो धाम भनिन्छ’’ उहाँले भन्नुभयो । 

उहाँका अनुसार हिन्दु धर्मको मान्यताअनुसार यो तीर्थस्थलमा भक्तजनले पिचाश्वर महादेव दर्शन गरेमा आफूबाट भएका पाप पखालिन्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ । ‘‘जनैपूर्णिमाका बेला मोक्ष प्राप्तिका लागि जिल्लाभन्दा बाहिर जुम्ला, कालीकोट, दैलेख, जाजरकोट हुम्लाबाट भक्तजन आउँछन्’’ पुजारी चौलागाईंले भन्नुभयो । 

यता बौद्धमार्गीको छायाँनाथ तीर्थस्थलमा हिन्दुहरूको जस्तै जनविश्वास छ । बौद्धधर्मका अध्येता लामागुरुका अनुसार हरेक वर्ष छायाँनाथको हिमालमा रहेका तीनवटा रङ्गका अलग टुप्पोमा अवस्थित रङ्गलाई बौद्धमार्गीले मञ्जुश्री बुद्ध, अबलोकेश्वर बुद्ध र बज्रयन बुद्धको स्वरूप मान्छन् । यिनैलाई बौद्धमार्गीले पूजा गर्छन् । 

नजिकको तीर्थ हेला भनेजस्तै छायाँनाथ पनि छायाँमा परेको सोरु गाउँपालिका –५ का धनकर्ण मल्लले बताउनुभयो । उहाँकै भनाइमा भारत बनारसको काशीमा समेत पहिला छायाँनाथलाई पिण्ड दिएर त्यहाँ पिण्ड चढाइन्छ । पितृसिद्धि पिण्डदानका लागि भारतको काशीमा जाँदा पहिला छायाँनाथलाई पिण्डदान गर्न लगाएर त्यसपछि बल्ल काशी तीर्थलाई पिण्डदान दिएर पुज्न लगाइन्छ ।  

छायाँनाथ मन्दिरका अर्का पुजारी असिने हमालका अनुसार छायाँनाथ तीर्थस्थलको प्रचार नहुँदा कतिपय भक्तजनलाई यहाँको विषयमा जानकारी छैन । ‘‘स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट मन्दिर र धर्मशालाको निर्माणमा व्यवस्थापन गरेमा यहाँ दर्शनार्थीहरुको घुइँचो लाग्ने थियो’’ उहाँले भन्नुभयो । 

छायाँनाथ तीर्थस्थलमा पर्यटन प्रवर्द्धनका लागि प्रदेश र सङ्घीय सांसदले गुरुयोजनाको कार्यक्रममा ध्यान नदिँदा छायाँनाथमा दिगो विकास हुन नसकेको नागरिक समाजका संयोजक रूपबहादुर मल्लको भनाइ छ ।