• १ भदौ २०८१, शनिबार

एक हजार बढीमा डेङ्गु सङ्क्रमण, एकको मृत्यु

blog

दमौली अस्पतालमा भर्ना भएका बिरामीहरु । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ १ गते । तनहुँमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा एक हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । डेङ्गुको प्रकोप बढ्न थालेपछि तनहुँ जोखिममा छ ।

हालसम्ममा एक हजार ८२ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार सो सङ्ख्यामा डेङ्गी पुष्टि भएको कँडेलले बताउनुभयो । 

कँडेलका अनुसार सङ्क्रमितमध्ये अधिकांश आँबुखैरेनी गाउँपालिकामा छन् । व्यास नगरपालिकामा डेङ्गीको सङ्क्रमणबाट एकको मृत्यु भएको छ । व्यास नगरपालिका –७ का ५० वर्षीय पुरुषको एक साताअघि मृत्यु भएको थियो । हालसम्म जिल्लाका ६ स्थानीय तहमा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । 

व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिकामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । हालसम्म भानु नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैन । 

व्यासमा ८७, शुक्लागण्डकीमा एकसय २०, भिमादमा चार, बन्दीपुरमा ५१ र आँबुखैरेनीमा आठसय १३, म्याग्देमा सात जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गुको सङ्क्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकाले पानी जम्न नदिएर वासस्थान ध्वस्त बनाएर लामखुट्टेलाई नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् । 

एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिनुभयो । जिल्लामा रोग फैलिँदै गएपछि रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएका छ । 

लामखुट्टेले फुल पार्ने ठाउँहरु ‘‘खोजौँ र नष्ट गरौँ’’ भन्ने नारासहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्न, पूरा बाउला भएका कपडा लगाउन र घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्न स्वास्थ्य कार्यालय तनहुँले आग्रह गरेको छ ।