• १० मंसिर २०८१, सोमबार

पर्यटकीय स्थल बन्दै पिली

blog

पर्यटकीय क्षेत्र बन्दै गरेको कालीकोटको पिली क्षेत्र ।

प्रेमराज सिम्खडा

कालीकोट, भदौ १ गते । जिल्लाको खाँडाचक्र नगरपालिका–७, पिली युद्ध पर्यटकीय स्थलका रूपमा परिचित हुन थालेको छ । पिलीमा स्थानीय सरकारको अगुवाइमा प्रदेश र केन्द्र सरकारका विभिन्न कार्यक्रममार्फत युद्ध पर्यटकीय क्षेत्र बनाउन लगानी हुँदै आएको छ । कोपडाँडामा युद्ध सङ्ग्रहालयका लागि पक्की भवन र द्वन्द्वका क्रममा पिलीमा मारिएका सहिदको नामावलीसहितको स्मारक राखिएको छ ।

पिलीको उकालोमा छेकबारसहितको पैदलमार्ग निर्माण गरिएको छ । केही घरमा होमस्टे सञ्चालनका लागि पूर्वाधार र व्यवस्थान स्थानीय आफैँले गरिरहेका छन् । भानाढुङ्ग्री डाँडामा नेपाल टेलिकमले टावर खडा गरेसँगै सञ्चार सेवा सहज बनेको छ । कर्णाली प्रदेशको पर्यटन मन्त्रालयमार्फत दुई करोड ६० लाख रुपियाँ खर्चेर तीन वटा भवन र स्टिलको छेकबारसहितको बाटो बनाइएको छ । अहिले यस क्षेत्रमा आन्तरिकदेखि बाह्य पर्यटकका लागि विश्राम स्थल बनेको छ । 

यहाँ आउने तस्बिर खिच्ने र घटनाका बारेमा स्थानीयसँग जानकारी लिन लालायित हुने गरेको स्थानीयले बताएका छन् । मुख्य गरी रारा जाने मूल बाटोमै भएकाले यहाँ एक पटक विश्राम गरेर पर्यटक रारातर्फ जाने गरेका छन् । सुक्खा क्षेत्र मानिने पिलीमा दाहा र चौकीबाट ल्याइएका खानेपानी तथा सिँचाइ आयोजनाले हरियाली बनाउने प्रयास पनि भइरहेको छ । नाङ्गा डाँडामा वृक्षरोपण गरिएको छ । पाँच वर्षअघि रोपिएका ४० हजार बिरुवामध्ये केही बिरुवा हुर्किने अवस्थामा छन् । 

स्थानीय पङ्खबहादुर मल्लले बर्सेनि पाँच हजारका दरले नयाँ बिरुवा पनि रोपिने गरेको भए पनि सुक्खा जमिन भएकाले २० देखि २५ प्रतिशतसम्म मात्र बिरुवा हुर्किने गरेको बताउनुभयो ।  वातावरण संरक्षणका लागि पिली गाउँका नागरिक पनि सक्रिय हुँदै आएका छन् । पिलीको डाँडा अहिले सबै पिकनिक स्थलका रूपमा विकसित हुँदै गएको कुरा स्थानीयले बताएका छन् । 

द्वन्द्वको अन्तिम फौजी आक्रमण पिली

माओवादी सशस्त्र सङ्घर्षको अन्तिम फौजी हमलाको सिकार बनेका पिलीवासीको जीवनशैली भने बिस्तारै फेरिँदै गएको छ । कमाइका लागि भारत धाउने युवा गाउँमै आत्मनिर्भर बन्न थालेका छन् । घर घरमा सोलार जडान गरी गाउँ झलमल्ल बनाइएको छ । तरकारी तथा फलफूल खेतीले यहाँका नागरिक घरमै बसेर आम्दानी गर्न थालेका छन् । यहाँ उत्पादन भएको तरकारी तथा फलफूल सदरमुकाम मान्म बजारसँगै जुम्लाको खलङ्गा बजार र रारा आउने पर्यटकका कारणले खपत हुँदै आएको छ । 

द्वन्द्वको समयमा ध्वस्त बनेको स्थानीयको जनजीवन शान्तिपछि केही सुधार हुँदै आएको छ । कर्णाली राजमार्ग निर्माणका क्रममा स्थापना गरिएको नेपाली सेनाको ब्यारेकमा २०६२ साउन २३ मा तत्कालीन माओवादीले आक्रमण गर्दा ठुलो क्षति पुगेको थियो । पिली आक्रमणमा पाँच दर्जन नेपाली सेना र त्यत्तिकै सङ्ख्यामा माओवादीको ज्यान गएको थियो । ६० सेनालाई माओवादीले अपहरण गरी डेढ सातापछि छाडेको थियो । माओवादीले पिलीबाट दुई सय थान हतियार कब्जा गरेर लगेका थिए ।

माओवादी आक्रमणको निसाना बनेको पिलीमा कर्णाली राजमार्ग बनेसँगै स्थानीयको जीवनस्तर फेरिन थालेको हो । सडक निर्माणसँगै पिली ग्रामीण बजारमा परिणत भयो । माओवादी आक्रमणपछि त्रासमा रहेका स्थानीयले लोकतन्त्र बहालीपछि मात्र शान्तिको सास फेर्न पाएका थिए । स्थानीय अगुवा पुत्रबहादुर मल्लले हुनुपर्ने जति विकास नभए पनि पर्यटन क्षेत्रमा केही सुरुवाती चरणका काम भइरहेको बताउनुभयो ।