• १६ भदौ २०८१, आइतबार

प्रभावकारी बन्दै ‘सम्मानित वृक्षरोपण’

blog

हेटौँडा समाचारदाता

हेटौँडा, भदौ १ गते । वनस्पति अनुसन्धान केन्द्र, वृन्दावन वनस्पति उद्यान मकवानपुरमा ‘सम्मानित वृक्षरोपण’ प्रभावकारी बन्दै गएको छ । वनस्पति उद्यानले देशमै पहिलो पटक सुरु गरेको सेरेमोनियल प्लान्टेसन अर्थात् ‘सम्मानित वृक्षरोपण’ कार्यक्रम प्रभावकारी भएको हो ।

उद्यानलाई स्थानीय र अवलोकनकर्तासँग नाता गाँसियोस् भन्ने अभिप्रायले ‘सेरेमोनियल प्लान्टेसन प्लट’ को अवधारणा विकास गरेकोमा हालसम्म १३९ जना व्यक्तित्वले वृक्षरोपण गरेका छन् । २०७८ सालदेखि सुरु भएको यो अवधारणा सेरेमोनियलको प्रावधान रहेकोमा वन नियमावलीमा सम्मानित वृक्षरोपण भएको र यो प्रावधान वृन्दावन वनस्पति उद्यान र पर्वतीय वनस्पति उद्यान दामनमा कार्यान्वयनमा आएको छ । वनस्पति उद्यानभित्र बिल्कुलै नयाँ ढाँचाको ‘थिमेटिक गार्डेन’ बनाउने उद्देश्यले उद्यानभित्रको करिब एक हेक्टरभन्दा बढी खाली जग्गामा सम्मानित वृक्षरोपण गरिएकोमा कार्यालय प्रमुख रघुराम पराजुलीको जन्मदिनको अवसर पारेर श्रीखण्डको बिरुवा रोपी यो कार्यव्रmम सुरु भएको थियो । जन्मदिन, वैवाहिक वर्षगाँठ, आमाबाबुको मुख हेर्ने दिन, विभिन्न दिवस एवं उद्यान भ्रमणमा आउने र कर्मचारीले ‘सम्मानित वृक्षरोपण’ गर्ने गरेका छन् । 

वन नियमावली, २०७९ मा उद्यानमा टिकटिङ प्रावधानकै क्रममा सम्मानित वृक्षरोपणको बिरुवा रोपण र संरक्षणका लागि दुई हजार रुपियाँ राजस्व राखिएको छ । यहाँ अमेरिकी, जर्मन नागरिकसहित पूर्वराजदूत, प्रदेश प्रमुख, विभिन्न सरकारी कार्यालयका कर्मचारी र यहाँ भ्रमणमा आउनेले वृक्षरोपण गरेका छन् । 

सम्मानित वृक्षरोपण गर्न चाहनेका लागि यहाँ बहुवर्षीय प्रजातिका बिरुवा कार्यालयले उपलब्ध गराउने, हुर्काउने र बिरुवाको संरक्षण एवं नेम प्लेटसहितको विवरण राख्ने गरिएको कार्यालय प्रमुख पराजुलीले जानकारी दिनुभयो । “सम्मानित वृक्षरोपणप्रति पछिल्लो समय आकर्षण बढ्दै गएको छ, बिरुवा मरेको खण्डमा हामीले नै पुनः रोपण पनि गर्दै आएका छौँ,” कार्यालय प्रमुख पराजुलीले भन्नुभयो । 

यहाँ रुद्राक्ष, सीता, अशोक, पिपल, छतिवन, चिउरी, अमला, वर, शमी, कपुर, कटहर, बेल, राजवृक्ष, कदम, निम, अर्जुन, आँप, जमुना, श्रीखण्ड, चाँप, तेजपात, अगस्ती, दार, हर्रो, इमली, सुगन्ध कोकिललगायतका बिरुवा रोपिएको छ । गत आवमा वृन्दावनमा ३६ र दामनमा दुई जनाले सम्मानित वृक्षरोपण गरेका थिए ।