• १६ भदौ २०८१, आइतबार

प्रम निवासमा पिपुल्स लाइब्रेरी

blog

काठमाडौँ, भदौ १ गते । प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ निर्माण गरिने भएको छ । ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेको कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न सक्ने छन् । 

प्रधानमन्त्री निवासमा रहेको पुस्तकालयलाई ‘पिपुल्स लाइब्रेरी’ का रूपमा विकास गर्ने अवधारणा राधिका शाक्यको हो । पुस्तकालयमा लेखक र पाठकलाई मन परेको पुस्तक सङ्कलन गर्ने अवधारणासमेत शाक्यकै हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सो लाइब्रेरीका लागि सघाउन सबैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार बिहानै सामाजिक सञ्जालमा पोस्ट गर्दै लेख्नुभएको छ, “बालुवाटारमा खाली रहेको पुस्तकालयको कोठालाई ‘पिपुल्स लाइब्रेरी’ बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएको छ । यस कार्यमा सघाउन सबैलाई आग्रह गर्दछु ।”

प्रधानमन्त्री ओलीले सञ्जालमा लेख्नुभएको छ, “बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो, त्यहाँ पिपुल्स लाइब्रेरी बनाऔँ ।”

उहाँले भन्नुभएको छ, “त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा दुई हजार वटा पुस्तक अट्ने रहेछ । राधिकाको भनाइ थियो, यहाँ सबैले पढेर मन पराएका पुस्तक राख्नु पर्छ ।”

उहाँले लेख्नुभएको छ, “लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ । तपाईंहरू पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ ।” स्टाटसमा लेखिएको छ, “तपाईंहरू पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ । त्यसका लागि राधिकाले हप्तामा छ दिन एक एक घण्टाको समय छुट्याउने कुरा भएको छ ।” राधिका शाक्यले भन्नुभयो, “बालुवाटार प्रधानमन्त्रीको कार्यालयमा पनि एउटा लाइब्रेरी कोठा भनेर छुट्याएको देखेँ र यहाँ तपाईंहरूले लेखेका र तपाईंहरूलाई मन परेका पुस्तक सङ्गृहीत गरेर राख्ने विचार आयो ।”उहाँले भन्नुभयो, “किताब पढ्न र सङ्गृहीत गर्न रुचाउँछु । मेरो घरमा पनि विभिन्न स्रोतबाट प्राप्त किताबलाई सकेसम्म सङ्गृहीत गरेर राखेकी छु ।”