• ३२ साउन २०८१, शुक्रबार

कर्णाली कोरिडोरको खच्चादेखि खार्पु सडक अवरुद्ध

blog

सर्केगार्ड गाउँपालिका– ४ को केन्द्र सेर्केगार्ड नजिक पहिरोले भासिएको सडक । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, साउन ३२ गते । कर्णाली कोरिडोरको सर्केगार्ड गाउँपालिका–१ को खच्चादेखि खार्पुनाथ गाउँपालिका-५ को खार्पु खण्डको सडक एक हप्तादेखि अवरुद्ध भएको छ । वर्षाको कारण ठाउँठाउँमा पहिरोले सडक अवरुद्ध गरेपछि सो खण्डको सडक अवरुद्ध भएको हो ।

कोरिडोरको हुम्ला खण्डको सडकमा धेरै स्थानमा पहिरोले अवरोध पुर्‍याएपछि गत साउन २६ गतेबाट यातायात सेवा बन्द हुँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताउनुभयो । उहाँले सर्केगार्ड गाउँपालिकाको खच्चामा पाँच सय मिटर सडकमा पहिरो जाँदा बालुकुनादेखि सलीसल्लाको सडक अवरुद्ध भएको जानकारी दिनुभयो ।

त्यसैगरि सलीसल्लादेखि खार्पुसम्मको सडकमा पनि ठाउँठाउँमा पहिरोले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको उहाँले बताउनुभयो । सडक अवरुद्ध भएपछि सर्केगार्ड, खार्पुनाथ र सिमकोटका लागि माल सामान लोड भएको यातायातको साधन अलपत्र अवस्थामा सडक बिचमा छ । यसबाट हुम्ला खण्डमा कर्णाली कोरिडोर ठप्प भएको छ । 

सामान ढुवानी गरेर ल्याएका व्यवसायी मर्कामा छन् । अवरुद्ध सडक सुचारु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।