• ३२ साउन २०८१, शुक्रबार

डब्लुएचओद्वारा एमपक्सलाई स्वास्थ्य आपत्काल घोषणा

blog

जेनेभा, साउन  ३१ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एमपक्सको प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक आपत्काल घोषणा गरेको छ । 

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस रोगको फैलावटमा भएको द्रुत वृद्धि साथै छिमेकी देशमा पनि यसको पहिचान भएसँगै यसलाई राष्ट्रिय आपत्काल घोषणा गरिएको हो ।

डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले यो अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल अन्तर्राष्ट्रिय स्वास्थ्य कानूनअन्तर्गत उच्चस्तरको चेतावनी भएको बताउनुभयो ।

“आज आपत्कालीन समितिको बैठकले एमपक्स रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल भएको सुभाव दिएको छ । मैले त्यो सुझाव स्वीकार गरेको छु । अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल अन्तर्राष्ट्रिय स्वास्थ्य कानुनअन्तर्गत उच्चस्तरको चेतावनी हो”, टेड्रोसले एमपक्सबारे भएको आपत्कालीन समितिको बैठकको नतिजाबारे जनाकारी गराउँदै भन्नुभयो ।  

यस वर्ष १० अफ्रिकी राष्ट्रमा एमपक्स पत्ता लागेको रोग नियन्त्रण र रोकथामका लागि डब्लुएचओका अफ्रिकी केन्द्रहरूले गत हप्ता बताएका छन् ।

“एमपक्सको सङ्क्रमण अफ्रिकाभित्र र त्योभन्दा बाहिर फैलन सक्ने सम्भावना रहेकाले यो चिन्ताजनक अवस्था हो”, टेड्रोसले भन्नुभयो । 

प्रकोपलाई नियन्त्रण गर्न एक समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

उहाँले कङ्गोमा एमपक्सको मामिलामा भएको वृद्धिको मूल्याङ्कन गर्न गत हप्ता आपत्कालीन समिति गठन गरेको जानकारी दिनुभयो । 

“हामीले स्वास्थ्य कार्यकर्ताहरूलाई तालिम दिइरहेका छौँ र सङ्क्रमितलाई उचित हेरचाह प्रदान गर्न चिकित्सकलाई सहयोग गरिरहेका छौँ, हामीले प्रभावित देशमा खोपको पहुँचका साथै आवश्यक सहयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।  

गत सेप्टेम्बरदेखि मध्य अफ्रिकी राष्ट्र कङ्गोमा एमपक्स सङ्क्रमण बढिरहेको छ । हाल छिमेकी देशहरूमा पनि यसको सङ्क्रमण पत्ता लागेको छ । 

डब्लुएचओले सन् २०२२ मा ७० भन्दा बढी देशमा फैलिएपछि मङ्कीपक्स भनेर चिनिने एमपक्सलाई विश्वव्यापी आपत्काल घोषणा गरेको थियो ।

एमपक्सबाट कङ्गोमा ५४८ को मृत्यु

यसैबीच कङ्गोमा एमपक्सको प्रकोपले यस वर्षको सुरुदेखि पाँच सय ४८ को ज्यान लिइसकेको त्यहाँका स्वास्थ्यमन्त्रीले बिहीबार जानकारी दिनुभएको छ । उहाँले सबै प्रान्त यसको भाइरसबाट प्रभावित भएको बताउनुभयो ।

स्वास्थमन्त्री स्यामुएल–रोजर कम्बाले भन्नुभयो, “हालैको महामारी विज्ञान रिपोर्टअनुसार हाम्रो मुलुकले यस वर्षको सुरुदेखि १५ हजार छ सय ६४ सम्भावित घटना र पाँच सय ४८ जनाको मृत्यु भएको रेकर्ड गरेको छ ।”

प्रजातान्त्रिक गणतन्त्र कङ्गो २६ प्रान्त मिलेर बनेको छ र यहाँ करिब १० करोड जनसङ्ख्या छ । एमपक्सबाट सबैभन्दा प्रभावित प्रान्तहरूमा दक्षिणी किभु, उत्तरी किभु, त्सोपो, इक्वेटर, उत्तरी उबाङ्गी, त्सुपा, मोङ्गला र सङ्कुरु रहेका छन् । (रासस, एएनआई)