• १६ भदौ २०८१, आइतबार

कर्णालीमा वार्षिक एक हजार सडक दुर्घटना

blog

मुगुको छायानाथ रारा नगरपालिका-७ पिनाटपने खोलामा २०६८ साल असोज २७ गते भएको बस दुर्घटना । फाइल तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट साउन ३० गते । कर्णाली प्रदेशमा आर्थिक वर्षमा एक हजार बढी सडक दुर्घटना भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशका दश जिल्लामा एक हजार ८६ सडक दुर्घटना भएको तथ्याङ्क छ । 

दुर्घटनाबाट एक सय १२ जनाको मृत्यु भएको छ भने दुई हजार ७७ जना दुर्घटनामा परि घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार सबै भन्दा बढी सडक दुर्घटनाबाट मानवीय क्षति सुर्खेत जिल्लामा भएको छ । एक वर्षमा सुर्खेत जिल्लामा भएका ६७३ दुर्घटना भएका छन् । दुर्घटनामा एक हजार १८४ जना घाइते भएका छन् । प्रदेश ट्राफिक कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भूपेन्द्रजंग शाहीले मानवीय क्षति कम भए पनि घाइतेको सङ्ख्या आर्थिक वर्ष २०८०/०८१ मा बढेको बताउनुभयो । 

सुर्खेतपछि दोस्रो नम्बरमा सडक दुर्घटना सल्यान जिल्लामा भएको छ । सल्यानमा सडक दुर्घटनाका कारण १९ जनाको ज्यान गएको छ भने २७१ जना घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सल्यानमा गत साउन यता एक वर्षमा १०४ वटा सडक दुर्घटना भएका थिए । मानवीय क्षतिका हिसाबले सुर्खेत जिल्ला पछि रुकुम पश्चिममा भएको छ । 

रकममा ८० वटा सडक दुर्घटनामा २३ जनाको मृत्यु भएको छ भने १५५ जना घाइते भएका छन् । यस्तै, दैलेख जिल्लामा एक वर्षमा ६० दुर्घटना भएका छन् । ६० वटा सडक दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन् । 

कालीकोट र जुम्ला जिल्लामा सडक दुर्घटनामा भएको मृत्युको सङ्ख्या बराबर छ । कालीकोटमा एक वर्षमा ४२ वटा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन् । उता जुम्लामा ३५ वटा सडक दुर्घटनामा परि सात जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । जुम्ला र कालीकोटको सडक दुर्घटनाबाट भएको मृत्यु सङ्ख्या बराबर भए पनि दुर्घटना सङ्ख्या र घाइते सङ्ख्या भने फरक छ । 

मुगु जिल्लामा १३ वटा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मुगुमा घाइतेको सङ्ख्या ३९ जना छ । जाजरकोट जिल्लामा एक वर्ष ५२ वटा सडक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएको प्रहरीको तथ्याङ्क छ ।

हिमाली जिल्ला हुम्लामा पनि आर्थिक वर्ष २०८०/०८१ मा १७ वटा सडक दुर्घटना हुँदा चार जनाको मृत्यु र २६ जना घाइते भएका छन् । सडकको सबैभन्दा कम पहुँच भएको हुम्लामा पनि १७ दुर्घटना हुनु दुखद भएको सामुदायिक रेडियो श्रीनगरका अध्यक्ष नवराज महताराको भनाइ छ । मानवीय हिसाबले सडक दुर्घटनाबाट सबै कम क्षति भएको जिल्ला डोल्पा देखिएको छ । डोल्पामा सडक दुर्घटना १२ वटा भए पनि मृत्युको सङ्ख्या जम्मा एक जना मात्र छ । डोल्पामा सडक दुर्घटनाबाट २१ जना घाइते भएको प्रदेश ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । 

प्रहरी निरीक्षक शाहीले सडक दुर्घटनाका कारणले मृत्यु हुनेको सङ्ख्या गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा घटेपनि दुर्घटनामा घाइते हुनेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । आर्थिक वर्ष २०७९/०८० मा सवारी दुर्घटनाको सङ्ख्या जम्मा ५४६ वटा छ  । जसमा मृत्यु हुनेको सङ्ख्या १२३ जना थियो भने घाइते एक हजार ९० जना भएका थिए।

आर्थिक वर्ष २०८०-०८१ को दुर्घटनाको सङ्ख्या ९९६ ले बढेको छ । गत तीन वर्षको तथ्याङ्क हेर्दा पछिल्लो समय सडक दुर्घटनामा वृद्धि भइरहेको पाइएको छ । जथाभाबी सवारीसाधन चलाउने प्रायः किशोरावस्थाका चालक भएकाले दुर्घटनामा भइरहने प्रहरीको भनाइ छ ।