• १६ भदौ २०८१, आइतबार

भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

blog

काठमाडौँ, साउन ३१ गते । काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७८ औँ स्वतन्त्रता दिवस मनाइएको छ । सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोहको शुभारम्भ गर्नुभएको थियोे । 

कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियोे । राष्ट्रपतिको उक्त सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पारिएको र भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धान्जली अर्पण गरिएको थियो । 

कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई पाँच करोड ५० लाख र कम्बल वितरण गरी सम्मान गर्नुभएको थियो । साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् एक सय सात मृतक सदस्यका निकटतम नातेदारका लागि १२ करोड ५५ लाख भुक्तानी दिइएको छ  ।

सो भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रमअन्तर्गत सन् २०२४, का लागि ‘डेथ-इन-सर्भिस’, ‘एक्सटेन्डेड इन्स्योरेन्स’ र एजीआई परिपक्वता भुक्तानीलगायतका लाभहरु समावेश छन् । दूतावासले नेपालका पाँच प्रदेशका २१ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ । यस पहलले प्राप्त अनुरोधको प्रत्युत्तरमा दुर्गम क्षेत्रकाविद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ ।

दूतावासका अधिकारी तथा उनीहरुका परिवारका अतिरिक्त नेपालमा रहनुभएका भारतीय समुदायका सदस्य तथा शुभेच्छुकहरुको भारतको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागिता थियो । सो अवसरमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए । रासस