• १६ भदौ २०८१, आइतबार
blog

अनिल पराजुली

हेटौँडा, साउन ३१ गते । हेटौँडा उपमहानगरपालिकाले वृद्धि गरेको करको विषयमा विवाद भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले विशेष नगरसभा बोलाउन माग गरेका छन् । नेकपा एमालेबाट निर्वाचित नगर सभामा सदस्य रहेका ४५ जनाले हस्ताक्षर सङ्कलन गर्दै नगर प्रमुख मीनाकुमारी लामासँग विशेष नगरसभा बोलाउन माग गरेका हुन् । हेटौँडा उपमहानगरपालिकाका कुल ९४ जना नगरसभा सदस्यमध्ये एमालेकै ५४ जना छन् । 

नगर प्रमुख लामा काठमाडौँमा हुनुहुन्छ । एमालेका नगरसभा सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतममार्फत लामासमक्ष विशेष नगरसभा बोलाउन माग गरेका हुन् । २०७४ यता हेटौँडामा पहिलो पटक विशेष नगरसभा सदस्य बोलाउन माग भएको छ । नेपालको संविधानको धारा २२२ देखि २२७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३, बागमती प्रदेशको गाउँ, नगर, जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन २०७५ को दफा ३ उपदफा ३ र दफा २३ को (ग), (घ), (ञ) र (ट) तथा उपमहानगरको नगरसभा सञ्चालन कार्यविधि २०७४ को दफा ३ बमोजिम विशेष नगरसभा बैठक बोलाउन माग गरिएको पत्रमा उल्लेख छ ।

विशेष नगरसभाको माग गर्दै हेटौँडा ४ का वडाध्यक्ष निवन सिग्देलले राजस्व परामर्श समिति, कार्यपालिका र नगर सभामा छलफल नै नभई उपमहानगरपालिकाको आर्थिक ऐनमा राजस्व दर अस्वाभाविक वृद्धि गरिएको दाबी गर्नुभयो ।  उहाँले उक्त राजस्वको दरका कारण हेटौँडाका व्यवसायीहरू मर्कामा परेकाले विशेष साधारण सभाबाट उक्त वृद्धि भएको कर फिर्ता लिनुपर्ने आफूहरूको पनि माग रहेको बताउनुभयो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को लागि बहाल कर देखि व्यवसाय करमा १६ देखि १५० प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै हेटौँडाका व्यवसायीहरू आन्दोलनमा छन् । कर वृद्धिको विरोधमा व्यवसायीहरू हेटौँडा उपमहानगरपालिका परिसरमा एक घण्टा धर्नासमेत दिएका थिए । ७ असारमा भएको उपमहानगरको १५ औँ नगर सभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो । 

यता, हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले भने प्रक्रियागत ढङ्गबाटै राजस्व वृद्धि गरिएको बताएका छन् । नगर सभाबाटै राजस्व वृद्धि गरिएकाले कानुन विपरीत नभएको उहाँहरूको दाबी छ । 


सातौँ वर्षमा करको दरमा हेरफेर

हेटौँडा उपमहानगरपालिकाले सातौँ वर्षमा करको दरमा हेरफेर गरेको छ । २०७५–७६ पश्चात् चालु आव २०८१–८२ मा औसतमा ५०.०७ प्रतिशत कर वृद्धि गरेको हो । उपमहानगरपालिकाले भूकम्प र कोरोनाको महामारीका कारण करमा वृद्धि गरेको थिएन । पछिल्लो समय मुद्रास्फीति र महँगी वृद्धि सँगै चालु आवमा उपमहानगरपालिकाले करको दरमा हेरफेर र वृद्धि गरेको जनाएको छ । 

बितेको छ आर्थिक वर्षमा कर वृद्धि नगरेको हेटौँडा उपमहानगरपालिकाले चालु आवमा कर वृद्धि गरेको राजस्व व्यवस्थापन शाखा प्रमुख मनोज सुवेदीले जानकारी दिनुभयो । उपमहानगरमा साउन १ गतेबाट अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८१ लागू भइसकेको अवस्थामा ऐन संशोधन गर्न नसकिने भएका कारण व्यवसायीको मागलाई सम्बोधन गर्न नसकिएको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । उहाँले व्यवसायी र उपमहानगरबिचको छलफलमा आगामी वर्षमा कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भनेर प्रस्ताव गरिने जानकारी दिनुभयो । 

चालु आवको साउन २९ गतेसम्ममा घरबाहल करबापत ४४ लाख ७२ हजार ७९७ रुपियाँ र व्यवसायी करबापत ३८ लाख रुपियाँ २४ हजार ६४० रुपैयाँ सङ्कलन भइसकेको उपमहानगरले जनाएको छ । ५४३ शीर्षकका व्यवसाय रहेको हेटौँडामा १३ हजार १७५  व्यवसायी दर्ता छन् । 

सबै व्यवसायी अद्यावधिक अवस्थामा नरहेको बताउँदै प्रवक्ताले ६० प्रतिशत भन्दा बढी सञ्चालनमा नरहेकाले अहिले वृद्धि भएको करमा असोज मसान्त सम्म कर तिर्ने व्यवसायीको हकमा १० प्रतिशत छुटको व्यवस्था नीतिगत रूपमा गरिएको जानकारी दिनुभयो ।  पछिल्लो समय मकवानपुर उद्योग वाणिज्य सङ्घले हेटौँडा उपमहानगरपालिकाले अस्वाभाविक रूपमा करवृद्धि गरेको भन्दै विभिन्न चरणबद्ध आन्दोलनको घोषणा गरेको छ भने उपमहानगरपालिकाले सातौँ वर्षपछि गरिएको कर वृद्धिलाई स्वाभाविक र आवश्यकताको सिद्धान्तको आधारमा गरेको जनाएको छ ।