• १४ वैशाख २०८१, शुक्रबार

१२२ वर्ष प्रवेश विशेष

हाम्रो ‘स्मार्ट यात्रा’ (प्रकाशकीय)

blog

गोरखापत्र एउटा अखबार मात्र होइन, यो नेपाली पत्रकारिताको प्रतिष्ठित पाठशाला हो । मुलुककै जेठो समाचारपत्रका रूपमा १२२ वर्षदेखि अविरल प्रकाशित गोरखापत्र हाम्रो गौरव अनि इतिहास पनि हो । हाम्रो सभ्यता र संस्कृति यसले बोकेको छ । हाम्रो समृद्ध साहित्य र भाषिक विविधताको धरोहरका रूपमा यो संस्था रहेको छ । 

१९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशनको प्रारम्भ नेपालमा पत्रकारिताको शिलान्यास मात्र थिएन, सञ्चारको विकासमा एउटा क्रान्ति नै थियो । १२२ वर्ष लामो अविचलित यात्रा आफैँमा अभूतपूर्व र गौरवमय छ । तत्कालीन अनुदार राजनीतिक व्यवस्था र नियन्त्रित समाजमा गोरखापत्रको सुुरुवात आफैँमा एउटा साहसिक कदम थियो । खुला समाज र लोकतन्त्रको बाटोतर्फ अघि बढ्ने चेतना र प्रेरणा यही संस्थाले प्रदान गरेको थियो । नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्र एउटा सिङ्गो युगको जीवन्त प्रतिनिधि हो । यसले इतिहासका सबैखाले उकाली–ओराली भोगेको छ भने हरेक राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणका थुप्रै आरोह–अवरोहको साक्षी बनेको छ ।

विरासत र इतिहासले हामी समृद्ध छौँ तर अहिलेको डिजिटल युगको प्रतिस्पर्धात्मक बजारमा आफूलाई प्रभावकारी रूपमा उभ्याउन हामीले हाम्रो सोच, शैली र गति बदल्नैपर्छ । संस्थासँग उपलब्ध पूर्वाधार, जनशक्ति, प्राविधिक एवं भौतिक स्रोतसाधनको प्रभावकारी उपयोग र परिचालन गर्दै परम्परागत ढर्रामा चल्दै आएको गोरखापत्र र यसका अन्य प्रकाशनलाई ‘डिजिटल सिफ्ट’ गर्नु आजको आवश्यकता हो । त्यसका लागि हाम्रो प्रयास अब ‘स्मार्ट यात्रा’तर्फ उन्मुुख भइसकेको छ वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’को लक्ष्य हासिल गर्न संस्थाको आन्तरिक पद्धति तथा प्रवृत्ति एवं उत्पादनको गुणस्तरमा व्यापक सुधार तथा परिवर्तनको अभियान सुरु भइसकेको छ ।

सूचना प्रविधिको तीव्रतर विकाससँगै मिडिया उद्यमको मात्र होइन, पत्रकारिताको चित्र र चरित्र बदलिएको छ । दुनियाँ डिजिटल भइसकेको छ । अबको दुनियाँमा बलवान् हामी पत्रकार वा पत्रिका होइन प्रविधि र पाठक हुन् । प्रविधिको व्यापक पहुँचसँगै पाठकसमक्ष रोजाइका अनगिन्ती विकल्प छन् र उनीहरूका चाहना र आवश्यकता फेरिएका छन् । सामाजिक सञ्जालको आक्रामक विकास र विस्तार मूल प्रवाहको मिडियाका लागि सबैभन्दा ठूलो चुनौती हो । आन्तरिक एवं नीतिगत सुधार तथा आवश्यक पुनर्संरचनासहित यसका सम्पादकीय उत्पादनहरूको गुणस्तर अभिवृद्धि गरी गोरखापत्रलाई सञ्चार क्षेत्रकै एउटा जीवन्त र सशक्त संस्थाका रूपमा विकास गर्न ठोस रणनीति र योजनासहित अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छौँ । हालै कोहलपुरबाट हामीले पश्चिम क्षेत्रको आफ्नै संस्करण सुरुवात गरेका छौँ । पूर्व क्षेत्रलाई समेट्ने गरी यसअघि नै हामीले विराटनगरबाट क्षेत्रीय प्रकाशन सुरु गरिसकेका छौँ । अब पूर्व र पश्चिम दुवैतर्फ गोरखापत्र र यसका अन्य प्रकाशनहरूको उत्पादन तथा वितरण प्रभावकारी बनाउनका लागि हामीले सम्पादकीय गुणस्तरको अभिवृद्धिसँगै बजार प्रवद्र्धनको अभियान पनि अघि बढाएका छौँ । 

हरेक बिहान तपाईंले आफ्नै घरआँगनमा गोरखापत्र तथा यसका अन्य प्रकाशन सहज र सुलभ रूपमा प्राप्त गर्ने प्रबन्ध मिलाउन वितरण तथा अन्य व्यवस्थापकीय पक्षमा सुधार थालेका छौँ । गोरखापत्र र दी राइजिङ नेपालको परम्परागत स्वरूप परिवर्तन गरेर नयाँ डिजाइन तथा लेआउटको सुरुवात गरेका छौँ । नयाँ प्रविधिअनुसार प्रस्तुत गरिएको स्मार्ट डिजाइन एवं लेआउटको आदरणीय पाठकबाट सकारात्मक प्रतिक्रियाले अझ उत्साहित भएका छौँ । अब हाम्रो ध्यान गुणस्तरीय सामग्रीको प्रभावकारी प्रस्तुतितिर केन्द्रित भएको छ । 

प्रविधिको अभूतपूर्व विकास तथा विस्तारसँगै सामाजिक सञ्जालको आक्रामक उपस्थिति मूल प्रवाहको मिडियाका लागि सबैभन्दा ठूलो चुनौती हो । २४ घण्टा कुरेर पाठकले किन गोरखापत्र र दी राइजिङ नेपाल पढ्नुपर्ने ? यसको जवाफ अब हामीले हाम्रो उत्पादनमा आमूल सुधार गरेर दिनैपर्छ । गोरखापत्र र राइजिङ नेपाल दुवैको न्युज पोर्टल प्रभावकारी बनाउन यसलाई नयाँ डेभलपमेन्ट तथा डिजाइनसहित प्रस्तुत गरिएको छ । न्युज पोर्टलसहित नयाँ डिजाइनको डिजिटल प्लेटफर्म पनि हामीले सुरु गरिसकेका छौँ । सामाजिक सञ्जालमा हाम्रो उत्पादनको मर्यादित उपस्थितिलाई अझ प्रभावकारी बनाउने प्रयास हामीले गरिरहेका छौँ । 

समावेशी प्रकाशनमार्फत चालीसभन्दा बढी भाषामा सामग्री प्रकाशित गरेर नयाँ राष्ट्रिय एकता र साम्प्रदायिक सद्भावलाई प्रवद्र्धन गर्ने काम पनि हामीले गरिरहेका छौँ । नयाँ नेपालको समावेशी चित्र र चरित्र समावेशी प्रकाशनमार्फत झल्किएको छ । गोरखापत्र र दी राइजिङ नेपालको १९५८ सालदेखि प्रकाशित गोरखापत्रका हरेक अङ्क तथा त्यसमा संलग्न सामग्री तथा तस्बिरहरूलाई व्यवस्थित र सुरक्षित रूपमा सङ्ग्रह गरेर त्यसलाई मुलुककै सम्पदाका रूपमा संवद्र्धन गर्ने डिजिटल अर्काइभको योजनालाई पनि हामीले प्राथमिकतासाथ अघि बढाएका छौँ । संस्थानसँग उपलब्ध स्रोतसाधन तथा जनशक्तिको प्रभावकारी परिचालन गरेर संस्थालाई आर्थिक रूपमा आत्मनिर्भर र दिगो बनाउन विज्ञापन, व्यापार प्रवद्र्धन तथा आम्दानी वृद्धिको नयाँ रणनीति र कार्ययोजनासाथ अघि बढेका छौँ । 

१२२ वर्ष लामो अविरल यात्रामा हामीलाई निरन्तर माया र साथ दिनुहुने सबै सम्मानित पाठक, लेखक, विज्ञापनदाता र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । हामीलाई अझ व्यावसायिक तथा जिम्मेवार हुनका लागि निरन्तर मार्गनिर्देशन तथा अभिभावकत्व प्रदान गर्ने नेपाल सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ । 

वर्तमान डिजिटल युग सुहाउँदो परिवर्तन र सुधार गरेर प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रूपमा उत्रनुपर्ने चुनौतीलाई सामना गर्दै अघि बढ्न नयाँ योजनासहित प्रस्तुत हुँदैछौँ । सबै पाठकले सहज रूपमा पढ्न पाउने र सबै नेपालीको ढुकढुकी बोल्ने एउटा प्रिय, विश्वसनीय एवं जिम्मेवार सञ्चार संस्थाका रूपमा अझ परिमार्जित हुँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ । 

Author
विष्णु सुवेदी

उहाँ गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष हुनुहुन्छ ।