• १६ भदौ २०८१, आइतबार

गुम्दामा आलु मेला हुँदै

blog

फाइल तस्विर

गुणबहादुर रोका

सुलीकोट, साउन ३० गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका –५ गुम्दामा आलु मेला २०८१ हुने भएको छ । मङ्गलबार गोरखा सदरमुकाममा पत्रकार भेटघाट गर्दै आलुको पकेट क्षेत्रमा आउँदो भदौ १ गतेदेखि आलु मेला  सञ्चालनमा आउने आलु मेला संयोजक मीनबहादुर सुनारले जानकारी दिनुभयो । 

उहाँका अनुसार गुम्दा एकता युबा क्लब र थामरा धार्चे युबा क्लबको आयोजनमा हुने मेला धार्चे गाउँपालिका –५ को गुम्दामा आउँदो भदौ १ गतेदेखि सञ्चालनमा आउनेछ । समुद्र सतहबाट २ हजार ३ सय मिटर अग्लो स्थानमा रहेको गुम्दामा उत्पादित आलु अत्यन्त मिठो मानिन्छ । 

हरेक बर्ष गुम्दा एकता युबा क्लब र थामरा धार्चे युबा क्लबको आयोजनमा मेला अबधिभर आलु प्रदर्शनी, उसिनेको आलु, पोलेको आलु तथा आलुका दर्जनौँ परिकारको स्वाद लिन सकिने संयोजक सुनारले बताउनुभयो । 

आलु खाने प्रतियोगितातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ । मेलालाई आकर्षण बनाउन स्थानीय खाना तथा सांस्कृतिक कार्यक्रम राखिएको संयोजक सुनारको भनाइ छ । 

मेलामा बारपाक, लाप्राक, लापु, काशीगाउँ, माछीखोला, केरौजा, आरुघाट उहियाँ तथा उत्तरी क्षेत्रका गाउँबाट अधिकांश मानिस मेला आउने गर्दछन् । उत्तरी गोरखाका ठुला चाडपर्वजस्तै मेला अवधिभर १५ हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजक संस्थाले गरेको छ । 

गुम्दा आलुका लागि प्रख्यात भएकाले पनि काठमाडौं, पोखरा, चितवन, हेटौंडालगायतका जिल्लामा बिक्री हुने गरेको आयोजक समितिका संयोजक सुनारले बताउनुभयो ।