• १६ भदौ २०८१, आइतबार

दर्ता नभएका क्लिनिक सिल

blog

सुजल श्रेष्ठ 

प्युठान, साउन २९ गते । सरुमारानी गाउँपालिका–४ बडडाँडामा दर्ताबिना सञ्चालन भएको शोभा क्लिनिक जिल्ला प्रशासन कार्यालयले प्युठानले सिल गरेको छ । फार्मेसी दर्ता गरी फार्मेसी र क्लिनिक दुवै सञ्चालन गरेको भेटेपछि अनुगमन टोलीले क्लिनिक सिल गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले शोभा फार्मेसी दर्ता भएको तर स्वास्थ्य क्लिनिक समेत चलाएको भेटिएकाले गाउँपालिकाको रोहवरमा सिल गरिएको बताउनुभयो । फार्मेसीसहित ल्याब, एक्सरेलगायत सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

यसैबिच सरूमारानी  गाउँपालिकाले गाउँपालिकाको मुख्य बजारमा दुई दिन निरन्तर अनुगमन गरेको छ । दुई दिनमा १२० वटा पसलको अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिनुभयो । 

अनुगमनको क्रममा अधिकांश पसल तथा होटलमा खाने तेलको गुणस्तरमा ह्रास देखिएको उहाँले बताउनुभयो । अनुगमनमा खाने तेल, जङ्क फुड, मसला लगायतका म्याद नाघेका सामान भेटिएको थियो । करिब ८५ हजार मूल्य बराबरका म्याद गएका सामानलाई नष्ट गरिएको पालिकाले जनाएको छ ।