• १६ भदौ २०८१, आइतबार

वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

blog

प्रसिद्ध धार्मिकस्थल त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल ।

मीना कंडेल

कावासोती, साउन २९ गते । नवलपुरको प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नारायणी नदीपारि वाल्मीकि आश्रम र वारि प्रसिद्ध धार्मिकस्थल त्रिवेणीधाम छ । 

दुई धार्मिकस्थललाई जोड्ने महत्वपूर्ण मानिएको पुल सञ्चालनमा ढिलाई हुँदा वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भएपनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता थियो । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । विसं २०७० असारमा सम्झौता भएर पुल निर्माणको काम अघि बढेको थियो । त्यसको नौ वर्षपछि पुल निर्माण सम्पन्न भएको हो । यतिका समय बित्दासमेत सञ्चालनमा आउन नसकेको झोलुङ्गे पुल सोमबारबाट सञ्चालनमा आएको छ ।

गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्दे्रश्वर भुसालले नेपालको धार्मिक स्थल भारतीय बाटो हुँदै जानुपर्दा समय त लाथ्यो नै, उत्तिकै झण्झटिलो समेत हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिवेणी स्थत गण्डक बाँध कटेर भारतको वाल्मीकि नगर र वाल्मीकि टाइगर रिजर्भ हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता रहेको थियो । पुल सञ्चालनमा आएसँगै त्रिवेणीबाट नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जान सकिने भएको छ ।”

धामका स्वामी कृष्ण प्रपन्नचार्य कठिन र अप्ठ्यारो हुँदा हुँदैपनि सबैको सहयोगले पुल संचालनमा आएको र पदमार्ग निर्माण गरि वाल्मीकि आश्रमलाई त्रिवेणीसँग जोड्न सकिएको बताउनुभयो । "धार्मिक ग्रन्थअनुसार त्रेता युगमा सीता माताले लवकुशलाई जन्म दिएको, लवकुशले महर्षि वाल्मीकिसँग शिक्षादीक्षा लिएको, वाल्मीकिसहित ८५ हजार ऋषिले हवन गरेको, लवकुशले भगवान श्रीरामको अश्वमेध यज्ञमा छोडिएको घोडा समातेर बाँधेको तथा महर्षि वाल्मीकिले रामायण लेखेको पवित्र भूमिक यही स्थानमा पर्दछ", कृष्ण प्रपन्नचार्यले भन्नुभयो । त्रिवेणीधाममा निर्माण भएको झोलुङ्गे पुल बाट त्रिवेणीधामबाट करिब ४० मिनेटको पैदल यात्रापछि आश्रममा पुग्ने सकिने उहाँ बताउनुहुन्छ ।

गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले वाल्मीकि आश्रम धार्मिक पर्यटकिय हिसाबमा महत्वपूर्ण रहेकाले अब यसको विकासमा लाग्नुपर्ने र आफूले पनि सम्बन्धित ठाउँमा पहल गर्ने बताउनुभयो । 

विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले पुल सञ्चालनमा आएपछि वाल्मीकि आश्रम आउने पर्यटक सहजै त्रिवेणीधाम र त्रिवेणीधाममा आएका पर्यटक सहजै वाल्मीकि आश्रम पुग्न सक्ने बताउनुभयो । वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल चलाउने, बाटो बनाउने भनेर पालिकाले नै पटक–पटक समन्वय गरेको अध्यक्ष गिरीले  बताउनु भयो । पुलमा आउने तस्बिर खिच्ने, घुमफिर गर्नेको पुल क्षेत्रमा भीड लाग्ने गरेको उहाँको भनाइ छ ।

पुल सञ्चालन पछि पदमार्ग समेत निर्माण गरिएकाले सोमबार पद यात्रा समेत गरिएको थियो । करिब २९ सय मिटरको पैदल मार्ग हुँदै त्रिवेणीको पुलबाट वाल्मीकि आश्रम पुगेको थियो ।