• १६ भदौ २०८१, आइतबार

पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत

blog

ढोरपाटन (बागलुङ), साउन २९ गते । गत साता बागलुङको बडिगाड गाउँपालिका-९ र १० मा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ । 

प्रदेश र सङ्घीय सरकारले बनाएको कार्यविधि अनुसार ज्यान गुमाएका प्रति परिवार नगद दुई लाखका दरले राहत रकम उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । पहिरोमा परि ज्यान गुमाएका ११ जनाको परिवारलाई प्रशासनले घटनास्थलमै पुगेर राहत उपलब्ध गराएको हो ।

प्रजिअ बरालले सरकारले प्राकृतिक विपदमा परि ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराउने नीति अनुसार राहत रकम प्रदान गरिएको बताउनुभयो । बडिगाड गाउँपालिका-१० आरुपाटाका जोगबहादुर बुढाको घरमाथिबाट खसेको पहिरोले नौ जनाको ज्यान लिएको थियो ।

पहिरोमा परेका एक बालक अझै बेपत्ता छन् । पहिरोमा पुरिएर १० जना घाइते भएका थिए । गम्भीर घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोही दिन वडा नम्बर–९ नयाँबस्तीमा पहिरोमा परी दुई जनाको ज्यान गएको थियो । रासस