• १६ भदौ २०८१, आइतबार

राति आठ बजेपछि सवारीसाधन चलाउन नपाइने

blog

नाक्खा गाउँपालिका केन्द्र याल्वाङमा नयाँ नियम लागु भएपछि सञ्चालनमा रहेका टिप्पर समयमै गन्तव्यमा पुग्नका लागि जाँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, साउन २८ गते । जिल्लाभर कर्णाली कोरिडोर र आन्तरिक सडकमा राति आठ बजेपछि बिहान साँढे पाँच बजेसम्म सवारीसाधनहरू चलाउन नपाइने भएको छ । सबैतिर कच्ची सडक भएको कारण सम्भावित दुर्घटनाबाट जोगिनका लागि स्थानीय प्रशासनको समन्वयनमा प्रहरीले रातिको समयमा यातायात सेवा बन्द गरेको हो । 

हिल्साबाट सिमकोटका लागि गाडी चलाउँदै आउनुभएका चालक पुरन रावतले रातिको समयमा सडक बन्द गरिएको बताउनुभयो । यसबाट यात्रु तथा चालकलाई केही असुविधा भएपनि सुरक्षाका लागि पनि यो नियम अति उपयुक्त भएको उहाँले बताउनुभयो । उहाँले हिल्साबाट सिमकोटसम्म चार स्थानमा सुरक्षा चौकी भएको र प्रत्येक स्थानमा साँझको आठ बजेभित्र यातायातका साधन कटी सक्नुपर्ने बताउनुभयो । सडकमा नयाँ नियमले गर्दा चालकहरू पनि गन्तव्यमा पुग्नका लागि चनाखो हुनुपर्ने अवस्था आएकोले जिल्लाको सडकको अवस्था हेर्दा राति यातायातका साधन सञ्चालन गर्न नदिनु मनासिब भएको उहाँले बताउनुभयो । 

प्रहरी निरीक्षक नरेन्द्र चन्दले जिल्लाभित्रका सबै सडकमा राती आठ बजेपछि यातायात सेवा सञ्चालनमा रोक लगाइएको बताउनुभयो । यसरी रातभर सञ्चालनमा रोक लगाइएका यातायातका साधन बिहान साँढे पाँच बजेपछि मात्र सञ्चालनमा आउने गरेका छन् । स्थानीय प्रशासनको समन्वयमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएपछि हुन सक्ने दुर्घटनाको जोखिमबाट सबै सुरक्षित रहेको उहाँले बताउनुभयो । 

कर्णाली कोरिडोरको कवाडीदेखि हिल्सासम्म आवश्यक स्थानमा चेकजाँचका लागि सुरक्षा व्यवस्था समेत नभएको अवस्थामा यसरी राति यातायात सेवा बन्द गर्नु उपयुक्त कार्य भएको उहाँले बताउनुभयो । बर्खा लागेकोले अविरल वर्षाको कारण ठाउँठाउँमा पहिरो गएर क्षति हुने पनि उत्तिकै सम्भावना भएको कारण पनि रातिको समयमा यातायात सेवालाई बन्द गर्नुपरेको उहाँले बताउनुभयो ।  

जिल्लाभित्रका सडकको अवस्था हेर्दा प्रहरीले लागु गरेको यो नयाँ नियम सबै क्षेत्रका लागि उपयोगी रहेको यात्रु डबल शाहीले बताउनुभयो । यसबाट रातिको समयमा जिल्लाभित्रका चालीसभन्दा बढी सडकमा यातायात सेवा बन्द हुँदै आएको छ ।