• २ माघ २०८१, बुधबार

पहिरोको जोखिममा जिल्ला सदरमुकाम

blog

पहिरोको उच्च जोखिममा रहेको कालीकोट सदरमुकाम जिरो प्वाइन्ट क्षेत्र ।

प्रेमराज सिम्खडा

कालीकोट, साउन २८ गते । कालीकोट जिल्ला सदरमुकाम मान्म बजार पहिरोको उच्च जोखिममा रहेको छ । बर्सातको समयमा जमिन भासिने क्रम भइरहेको छ । सदरमुकाम मान्म तीनतिरको पहिरोको जोखिममा पर्दै आएको छ । मान्म बजारको पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा पहिरो झर्ने गरेको छ । 

नेपाली सेनाको क्याम्प रहेको आरुपाटादेखिको जमिनमा चिरा परेको एक दशक भइसकेको छ भने गत वर्षदेखि थप जमिन भासिँदै गएको छ । बजारको उत्तरपट्टिको नावगैरको बस्ती पनि उस्तै जोखिममा छ । पश्चिमतर्फको कृषि विकास कार्यालय आसपासको जमिन बर्सातमा मात्र होइन, हिउँदको समयमा पानी परेका बेला भासिने गरेको छ । कृषि विकास कार्यालयको नयाँ भवनको आँगन भासिँदै गर्दा जमिनको सतह उचोनिचो भइसकेको छ । कार्यालय प्रमुख भरतबहादुर बस्नेतले भिरालो जमिनले बिस्तारै पुरानो अवस्था छोडिरहेको र जोखिमका कारणले त्रासकै बिचमा कार्यालयमा बस्नु परेको बताउनुभयो । 

आँगन भासिँदै गर्दा चिरा परेको ठाउँमा सिमेन्टको मसाला लगाउने र पुर्ने काम भइरहेको उहाँले बताउनुभयो । कार्यालय भवन र जमिनको भाग अलग हुँदै गएको छ । उत्तरपट्टिको लेखा शाखा रहेको भवन चर्किएको छ तर पनि बस्नुपर्ने बाध्यता भएको कार्यालयका कर्मचारीको भनाइ छ । 

बजारको सबैभन्दा जोखिम जिरो प्वाइन्ट बजार रहेको छ । स्थानीय व्यापारी लक्ष्मणप्रसाद अधिकारीका अनुसार केही वर्ष पहिले भूगर्भविद्को टोलीले समेत कुनै पनि बेला पहिरो जान सक्ने भन्दै नेपाली सेनालाई समेत अर्को ठाउँमा बस्न सुझाव दिएको थियो ।  एक पटक सेनाले पनि जमिनको खोजी गरेको थियो तर उपयुक्त जमिन नपाएकाले सेना आरुपाटामै बसिरहेको छ । नेपाली सेनाले आफ्नो आवास क्षेत्र पनि सारेको अधिकारीको भनाइ छ । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले पनि आरुपाटास्थित नेपाली सेना बसिरहेको जमिन निकै जोखिममा रहेको पुष्टि गर्नुभयो । जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजनामा २०८१ सालमा कालीकोट सदरमुकाम मान्मको पूर्वी क्षेत्र उच्च जोखिममा रहेको उल्लेख छ ।