• १६ भदौ २०८१, आइतबार

सिनेमाको इतिहास

blog

हाल काठमाडौँको नयाँ सडकस्थित विशालबजार रहेको स्थानमा जनसेवा सिनेमा हल थियो । तस्बिरमा सो हल देखिएको छ ।

नेपालमा धेरै भाषा बोलिन्छ । भाषा संरक्षणका दृष्टिकोणले पनि विभिन्न भाषामा सिनेमा निर्माण गर्ने गरिन्छ । नेपालमा नेपाली, नेवारी, तामाङ, गुरुङ, मगर, मैथिली, भोजपुरीलगायत थुप्रै मातृभाषामा सिनेमा बनेका छन् । 

सन् १८९५ डिसेम्बर २८ तारिखमा विश्वमा पहिलो सिनेमा सार्वजनिक गरिएको थियो । फ्रान्सका अगस्ट लुमियर र लुई लुमियर दाजुभाइले आफैँले निर्माण गरेको प्रोजेक्टरको सहायताले सिनेमा देखाएका थिए तर ती सिनेमामा अहिले जस्तो कुनै कथा, पटकथा र संवाद थिएनन्, मात्र दृश्य थियो । 

सन् १९२७ मा सिनेमामा पहिलो पटक आवाजको प्रयोग गरियो । सन् १९२७ मा अमेरिकामा आवाजसहितको सिनेमा प्रदर्शन भयो, द ज्याज सिङ्गर । सन् १९२९ मा अमेरिकामा आवाजसहितको पहिलो पूर्ण सिनेमा ‘द लाइट्स अफ न्युयोर्क’ प्रदर्शन गरियो । 

नेपालमा २००६ सालदेखि सिनेमाघरमा सिनेमा प्रदर्शन गर्न थालियो । हाल विशालबजार भएको ठाउँमा काठमाडौँ सिनेमाघर थियो । पछि त्यसको नाम जनसेवा सिनेमा हल बनाइयो । त्यो हल २०१८ सालमा आगजनी गरिएको थियो । काठमाडौँ सिनेमाघरमा पहिलो पटक हिन्दी सिनेमा रामविवाह प्रदर्शन गरिएको थियो । त्यो बेला सिनेमा हेर्नका लागि एक सुका (पच्चिस पैसा) तिरेर टिकट लिनु पर्दथ्यो । 

नेपालमा २०२२ सालबाट सिनेमा निर्माण गर्न थालिएको हो । विदेशी भूमिमा पहिलो नेपाली भाषाको सिनेमा सत्य हरिश्चन्द्र बनेको थियो । २००७ सालमा भारतको कोलकातामा सो सिनेमा बनाइएको थियो । डिबी परियार (दिव्यचन्द्र विक्रम परियार) ले सिनेमाको निर्देशन गर्नुभएको थियो । सो सिनेमाको प्रथम प्रदर्शन २००८ साल भदौ ३० गते गरिएको थियो । 

हिरासिंह खत्रीको निर्देशनमा २०२२ सालमा सिनेमा आमा निर्माणपछि नेपाली सिनेमा निर्माणको क्रम सुरु भयो । त्यो सिनेमा सरकारले निर्माण गरेको थियो । आमामा नायक शिवशङ्कर मानन्धर र नायिका भुवन चन्द हुनुहुन्थ्यो ।  

सूचना विभागले २०२४ सालमा हिजो, आज र भोलि र २०२८ सालमा परिवर्तन सिनेमा बनाएको थियो । सरकारले २०२८ साल कात्तिक १६ गते शाही नेपाल सिनेमा संस्थानको स्थापना गरेको थियो । सो संस्थानले पहिलो सिनेमा २०३१ सालमा मनको बाँध बनाएको थियो । संस्थानले नेपालमा पहिलो रङ्गीन सिनेमा २०३४ सालमा कुमारी बनाएको थियो । त्यसपछिका सिनेमा बनाउने क्रम बढ्न थाल्यो । अहिले बर्सेनि थुप्रै सिनेमा बनाइन्छ । 

 साउन मुना २०८१