• १६ भदौ २०८१, आइतबार

‘घर घरमा डाक्टर’ अभियान

blog

बर्दीबास समाचारदाता

बर्दीबास, साउन २७ गते । महोत्तरीको सीमावर्ती नगरपालिका मनरासिसवाले स्वास्थ्य सेवामा सहज पहुँचका लागि ‘घर घरमा डाक्टर’ अभियान सञ्चालन गरेको छ । नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालित गरी जनताको घरमै सेवा पु-याउन ‘घरदैलो सामुदायिक स्वास्थ्य कार्यक्रम’ सञ्चालमा ल्याएको हो । 

स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको मनरासिसवाले १२ औँ नगर सभाबाट स्वीकृत कार्यव्रmम अनुसार प्रत्येक वडाको घरदैलोमै स्वास्थ्य सेवा विस्तार गरेको नगरप्रमुख मोहन पाण्डेयले बताउनुभयो । पहिलो महिनामै जनतामा सन्तुष्टि र पृष्ठपोषण राम्रो पाइएकाले यो सेवाले नगरको स्वास्थ्य क्षेत्रमा अनुकूल प्रभाव पार्ने सङ्केत गरेको नगरप्रमुख पाण्डेयको भनाइ छ । 

भौगोलिक अवस्थितिको हिसाबले भारतको विहारसँग दक्षिणी सीमा जोडिएको मनरासिसवाको जनघनत्व सबैभन्दा बढी छ । १० वटा वडा भएको यस नगरपालिकाको जनसङ्ख्या ५२ हजार छ । यहाँ एक आधारभूत नगर अस्पताल, छ वटा वडामा स्वास्थ्य चौकी र तीन वडामा आधारभूत स्वास्थ्य सेवा छन् । सबै स्वास्थ्य संस्थामा गरी एक जना मेडिकल अफिसरसहित ८० जना स्वास्थ्यकर्मी कार्यरत छन् । 

‘घर घरमा डाक्टर’ कार्यक्रम अन्तर्गत हरेक वडामा महिला र पुरुष गरी कम्तीमा दुई जना स्वास्थ्यकर्मी खटाइने व्यवस्था मिलाइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र यादवका अनुसार नगरपालिकाको ग्रामीण भेगका अधिकांश बासिन्दा आफ्नो स्वास्थ्यप्रति खासै संवेदनशील देखिँदैनन् । व्यथा लुकाउने र रोगलाई नियति ठान्ने प्रवृत्ति सबैभन्दा ठुलो समस्या छ । 

सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत घरदैलोमै पुगेका स्वास्थ्यकर्मीले सामान्य जाँचका साथै सुगर, प्रेसर, गर्भवती जाँच, परिवार नियोजनलगायत स्वास्थ्य परामर्श दिने गरेका छन् ।

मनरासिसवाको वडा नं १० अन्तर्गत मरुवाही, सकरी र मधवा गाउँ विकास सूचकाङ्कको दृष्टिले पिछडिएको मानिन्छ । भारतीय सीमासँग जोडिएको यस वडाकी अनमी ममता यादवले घरदैलो सेवा आफ्ना लागि पनि नौलो अनुभव भएको बताउनुभयो । मुख्यतः अशक्त, अपाङ्ग र छोरीबुहारीका लागि घरदैलो स्वास्थ्य सेवा अत्यन्तै प्रभावकारी देखिएको छ । 

अनमी ममताले भन्नुभयो, “घरमै पुगेर जाँच गरिदिँदा खुसी पनि हुन्छन् । चेलीबेटीले खुलेर समस्या राखिदिने भएकाले सेवा र उपचारमा पनि सहज भएको छ ।” घर घरमा डाक्टर सेवा हरेक महिनाको १ देखि १५ गतेसम्म सञ्चालन गर्ने नगरपालिकाको निर्णय छ । पहिलो पटक भएकाले साउन १५ गतेदेखि सञ्चालन भएको छ ।”   

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र यादवले ‘घर घरमा डाक्टर’ कार्यक्रमले स्वास्थ्य संस्थाको सेवामा कुनै प्रभाव नपर्ने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो नगर क्षेत्रका वृद्ध, अशक्त, थला परेका, गर्भवती र चेलीबुहारीलाई लक्षित गरी सञ्चालन गरिएको सेवा हो । यो सेवाले जनतालाई स्वास्थ्यकर्मीसँग जोड्ने भएकाले स्वास्थ्य संस्थाको सेवालाई थप प्रभावकारी बनाएको छ । रोग लुकाएर बसेका नयाँ बिरामीलाई उपचार प्रक्रियामा लगिएको छ ।”

मनरासिसवा–१० का बासिन्दा माधवेन्द्र चौधरीले जनताको स्वास्थ्यसँँग प्रत्यक्ष जुटेको यो कार्यक्रम आफैँमा महìवाकाङ्क्षी र दूरगामी प्रभाव राख्ने हुँदा जनतालाई आशावादी बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनहितमा जारी यस्ता कार्यक्रम प्रशंसनीय भए पनि यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण भएकाले यसलाई सफल बनाउनु सबैको दायित्व हो ।”