• १० मंसिर २०८१, सोमबार

लिम्बू गाउँमा च्याब्रुङ चिन्ता

blog

ठाकुर सेनेहाङ लिम्बू 

तेह्रथुम, साउन २३ गते । च्याब्रुङ नाच लिम्बू समुदायको प्रचलित नृत्य हो । जातिको चिनारीका रूपमा रहेको सांस्कृतिक बाजा च्याब्रुङ विवाह, पर्व, उत्सव, घरपैँचो जस्ता शुभकार्यमा बजाएर नाचिन्छ । 

मादल जस्तै ठुलो काठको ढुङ्ग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने च्याब्रुङ बाजामा खरीको प्रयोग गरिँदैन । च्याब्रुङ नाचमा वृत्ताकार शैली, घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिन्छ । तथापि च्याबु्रङ नाचको टोली खोज्न टाढा टाढासम्म पुग्नु पर्छ । चैनपुर नगरपालिका सङ्खुवासभाका मानध्वज लिम्बूले भन्नुभयो, “पहिल्लो पिँढीले यो सिप नसिकेका कारण लोप हुने अवस्थामा छ ।”

च्याबु्रङ नाचको आधारभूत ताल कसरक्पा हो । यो कहिले गोलो घेरामा, कहिले अर्धगोलाकार त कहिले सरल रेखामा नाचिन्छ । यसमा सबैले एउटै तालमा खुट्टा अघिपछि सारिन्छ, हातले गर्ने अभिनय पनि रोचक हुन्छ । 

आठराई त्रिवेणी गाउँपालिका–४, ताप्लेजुङका अमृता साँवाका अनुसार च्याबु्रङ नाच्ने र मुन्धुम गाउने अग्रज निष्व्रिmय भएका छन् । कतिपय ठाउँमा संस्कृति जोगाउन युवा सक्रिय भएका छन् । उहाँले भन्नुभयो, “हामीले क्लब नै गठन गरेर च्याब्रुङ नाच्न सिकिरहेका छौँ ।”

च्याब्रुङ नृत्यमा कुखुराको भाले, परेवा, मयूर, ढुकुर, कोइली, भँगेरा, सर्प, पुतली, दुम्सी, मृग, बाँदर जस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिन्छ । यसमा गाइने मुन्धुममा जीवन र जगत्को वर्णन हुन्छ । च्याब्रुङ र मुन्धुमको संरक्षणका लागि कतिपय स्थानीय तहले आगामी बजेटमा रकम विनियोजन तयारी गरिरहेको पाइन्छ । लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङका अनुसार च्याब्रुङ संरक्षणका लागि पालिकाले 

नीति तथा कार्यक्रममा समावेश गरेको र बजेटसमेत विनियोजन गरिएको छ । 

लिम्बू समुदायको धर्मग्रन्थ मुन्धुम अनुसार सृष्टिको उत्पत्तिदेखि मानव सभ्यताको विकास क्रमसँगै पुर्खा सोदुङगेन लेप्मुहाङको पालादेखि च्याबु्रङ बजाउन सुरु भएको बताइन्छ । यो बाजा बजाउँदा दाहिनेपट्टिबाट ‘च्याङ’ र देब्रेपट्टि ‘ब्रुङ’ को (ध्वनि) निस्कने हुँदा यो बाजालाई च्याबु्रङ भनिएको जानकारको भनाइ छ ।