• २३ साउन २०८१, बुधबार

मन्त्रिपरिषदका निर्णय

दुई जना सचिवमा र एक जना एआइजीमा बढुवा

blog

मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

 काठमाडौँ,  साउन २२ गते । मन्त्रिपरिषदको बैठकले दुई सहसचिवलाई सचिवमा र नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ । मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अरुणचन्द्र श्रेष्ठ र परासर ढुङ्गानालाई सचिव पदमा बढुवा गरेको हो । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछि पत्रकारसँग भन्नुभयो, “नेपाल न्याय सेवा कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका (सहसचिव) अरुणचन्द्र श्रेष्ठलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा सचिव पदमा बढुवा गर्ने निर्णय गरेको र उहाँलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको छ ।” 

सचिव पदमा बढुवा भएका अर्का सहसचिव परासर ढुङ्गानालाई नेपाल कानुन आयोगमा पदस्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता गुरुङले भन्नुभयो, “नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपथ प्रहरीतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको छ ।” उहाँका अनुसार नेपाल प्रहरीतर्फका एआइजीहरूको सरुवा तथा पदस्थापना गरिएको मन्त्री गुरुङको भनाइ छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा सरुवा गरिएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसन्धान ब्युरो लाजिम्पाटबाट श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ । 

यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालयबाट किरण बज्राचार्यलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार, आज एआइजीमा बढुवा हुनुभएका रामदत्त जोशी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । रासस