• २२ साउन २०८१, मङ्गलबार

बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराउँदै

blog

चितवन,  साउन २२ गते ।  रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रत्येक महिना बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउँदै आएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णबिन्दु प्राशन कार्यक्रम राखिएको हो । 

चिकित्सालयका प्रमुख डा. कोपिला अधिकारीका अनुसार गत आर्थिक वर्षबाट सुरु गरिएको यो कार्यक्रममा पछिल्लो पटक पाँच सय बालबालिका सहभागी हुँदै आएका छन् । चिकित्सालयले चौथो पटक कार्यक्रम सञ्चालन गरिसकेको छ । कार्यक्रम सुरुआत गर्दा पहिलोपटक दुई सय ९६ बालबालिकालाई प्राशन गराइएकामा चौथो पटक पाँच सय एकजनालाई स्वर्णबिन्दु प्राशन गराइएको हो । 

स्वर्णबिन्दु प्राशन, जसलाई सुवर्ण प्राशन वा स्वर्ण प्राशन पनि भनिन्छ । यो एक परम्परागत आयुर्वेदिक औषधि हो । यसले बालबालिकाको समग्र स्वास्थ्य र प्रतिरक्षा (युमिनिटी) प्रणालीलाई सबल बनाउने डा. अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “यसलाई स्वर्ण (सुनको) भस्मका साथमा ब्राह्मी घृत, मह मिलाएर खुवाइन्छ ।” बालबालिकाको उमेरअनुसार दुईदेखि पाँच थोपा खुवाइन्छ ।  ब्राह्मी एउटा जडीबुटी रहेको र जसले बालबालिकाको मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसले बालबालिकाको प्रतिरक्षा प्रणालीको सुधार गर्नाका साथै बुद्धिको विकास, स्मरण शक्ति बढाउँछ । बालबालिकाको पाचन शक्ति राम्रो गराउँछ भने बल र आयु बढाउँछ । समग्र शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धनमा स्वर्णबिन्दु प्राशन महत्वपूर्ण मानिन्छ ।”

उहाँका अनुसार स्वर्णबिन्दु प्राशन महिनामा एक पटक खाली पेटमा दिनुपर्छ । यो ३० मात्रासम्म खान राम्रो मानिन्छ । यो सामान्यतया छ महिनादेखि पाँच वर्षको उमेरसम्मका बालबालिकालाई ख्वाउने गरिन्छ । होमियोप्याथी, एलोप्याथी जस्ता अन्य औषधिसँगै स्वर्णबिन्दु प्राशन गराउन सकिने चिकित्सालयका प्रमुख डा. अधिकारी बताउनुहुन्छ । “नियमित लगाउनुपर्ने अन्य खोपहरु लगाइरहे जस्तै स्वर्णबिन्दु प्राशन पनि नियमित खुवाउनुपर्दछ, एक पटक मात्रै खुवाएर हुँदैन”, उहाँले भन्नुभयो । रासस