• २२ साउन २०८१, मङ्गलबार

सबैभन्दा बढी उजुरी स्थानीय सरकारको

blog

स्याङ्जा समाचारदाता  

स्याङ्जा, साउन २२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा स्याङ्जाबाट परेका उजुरीमध्ये सबैभन्दा बढी स्थानीय सरकारका दर्ता भएका छन् । सूचना अधिकारी जगदीशचन्द्र शिवाकोटीले आर्थिक वर्ष २०८०/८१ मा पोखरास्थित अख्तियारको कार्यालयमा स्याङ्जाबाट १६८ उजुरी दर्ता भएको बताउनुभयो । 

दर्ता भएका उजुरीमा सङ्घीय सरकारका २१, प्रदेश सरकारका १९ र स्थानीय सरकारका १२८ रहेका छन् । 

स्याङ्जाबाट दर्ता भएका उजुरीमध्ये १५८ ओटा उजुरी फस्र्योट भएको र १० वटा गम्भीर प्रकृतिका रहेकाले अनुसन्धानमा रहेको शिवाकोटीले बताउनुभयो । फस्र्योट हुन बाँकी रहेका १० वटामा प्रदेशका तीन र स्थानीय सरकारका सात वटा रहेको आयोगले जनाएको छ । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा पछिल्लो समय अख्तियारमा धमाधम उजुरी पर्न थालेपछि त्यसको जवाफ दिनमै व्यस्त रहेको देखिन्छ । 

जवाफ मात्रै नभएर अख्तियारमा पुगेर बयान दिन अहिले स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारी बाध्य भएका छन् । अख्तियारमा उजुरी दर्ता हुँदैमा भ्रष्टाचार भएको छ भन्न नमिल्ने उल्लेख गर्दै सूचना अधिकारी शिवाकोटीले कतिपय उजुरी रिसिबी र आवेगका आधारमा आएको बताउनुभयो ।