• ३२ साउन २०८१, शुक्रबार

घटे विदेशी श्रमिक

blog

काठमाडौँ, साउन २१ गते । स्वदेशमा रोजगारीका अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेका बेलामा विदेशबाट नेपालमा आएर काम गर्नेको सङ्ख्या भने घटेको छ । पछिल्लो दुई आर्थिक वर्षमा विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या ११ प्रतिशतले घटेको हो ।                         

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार आव २०८०/८१ मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा कामका लागि नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुई हजार ६८५ रहेको छ । जसमा नयाँ एक हजार २० जना रहेका छन् भने श्रम नवीकरण गर्नेको सङ्ख्या एक हजार ६६५ जना रहेका छन् । जबकि आव २०७९/८० यो सङ्ख्या दुई हजार ९९४ जना थियो । जसमा नयाँ एक हजार ३६९ जना थिए भने श्रम नवीकरण गर्ने एक हजार ६२५ जना थिए । जुन सङ्ख्या आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा ३०९ जनाले बढी हो । 

नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि करिब ७४ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । आव २०८०/८१ मा नेपालबाट श्रम स्वीकृति लिएर काम गर्नेमध्ये ६२ प्रतिशत चिनियाँ रहेका छन् । अन्य बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, अस्टे«लिया, भारत, श्रीलङ्का, बङ्गलादेश जर्मनीलगायतका देशका रहेका छन् । 

 विभागका निर्देशक मणिनाथ गोपले नेपालमा सञ्चालन भइरहेका चीनका साना तथा ठुला परियोजनाका लागि आवश्यक पर्ने सबै किसिमका प्राविधिक चिनियाँ नै ल्याइने गरेकाले अन्य देशको तुलनामा चिनियाँ नै धेरै भएको बताउनुुभयो । उहाँका अनुसार अन्य देशबाट ठुला प्रोजेक्टमा माथिल्ला पदमा मात्रै आफ्नो देशको नागरिक ल्याउने गरेको तर चीनले भने अधिकांश प्राविधिक आफ्नै देशबाट ल्याउने गरेको छ । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा काम गर्न धेरै विदेशीले विभागबाट श्रम स्वीकृति लिने गरेका छन् । 

विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति विदेशबाट मगाएर काममा लगाउन सकिने व्यवस्था गरेको छ । नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको सङ्ख्यामा अदक्ष विदेशी श्रमिकसमेत नेपाल आउने गरेका छन् । यसले गर्दा दक्ष नेपाली श्रमिकले स्वदेशमै रोजगारी नपाउने अवस्था सिर्जना भएको छ । 

श्रमविज्ञ एवं पूर्वसचिव पूर्णचन्द्र भट्टराईका अनुसार विदेशबाट आएर नेपालमा श्रम इजाजत लिएर काम गर्न आउनेमा ९० प्रतिशत उच्च दक्ष जनशक्ति रहेको छ भने नेपालबाट विदेश गएर काम गर्ने ठुलो सङ्ख्या अदक्ष जनशक्ति रहेका छन् । नेपाल सरकारले अब दक्ष नेपाली श्रमशक्तिलाई स्वदेशमै रोक्न सके मात्रै विदेशी श्रमशक्तिका लागि बिदेसिने नेपाली मुद्रा रोकिने उहाँको विश्लेषण छ ।