• ९ भदौ २०८१, आइतबार

बढ्दै हैजाको प्रकोप

blog

काठमाडौँ, साउन १९ गते । वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ । हालसम्म विभिन्न जिल्लामा गरी २५ जनामा हैजा पुष्टि भएको छ । यो तथ्याङ्क कल्चर गरेर आएको हो । यसबाहेक आरडिटीमार्फत पनि हैजा पुष्टि भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली, प्युठान जिल्लामा हैजाको प्रकोप देखिएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले कल्चरबाट २५ जना व्यक्तिमा हैजा पुष्टि भएको बताउनुभयो । 

एक साताअघि ललितपुरमा पुष्टि भएको हैजा प्रकोपका रूपमा बढ्न थालेको छ । शुक्रबार मात्रै ललितपुरमा थप दुई जनामा हैजा देखिएको छ । निर्देशक डा. घिमिरेले हैजा महामारीजन्य रोग भएकाले एक व्यक्तिलाई हैजा छ भने उसको हेरचाह गर्ने व्यक्तिले सतर्कता अपनाउनुपर्ने बताउनुभयो । डा. घिमिरेले हैजा दिसाबाट सर्ने भएकाले दिसा गरिसकेपछि राम्रोसँग हात धुनुपर्ने जनचेतना जनस्तरमा बढाउनुपर्ने बताउनुभयो । 

डा. घिमिरेका अनुसार हैजा भिब्रियो कोलेरा नामक कीटाणुले लाग्ने सङ्क्रामक रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा भर्ना भएका सात जना हैजाका बिरामी डिस्चार्ज भइसकेको बताउनुभयो । उहाँले झाडापखाला लागेका पाँच जना बिरामी अस्पतालमा भर्ना भएको बताउनुभयो । झाडापखाला लागेका बिरामी दैनिक पाँचदेखि १० जना अस्पताल आउने गरेको जानकारी गराउनुभयो ।  


Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।