• ४ जेठ २०८२, आइतबार

गढन–सागवीर जोड्ने झोलुङ्गे पुलको उद्घाटन

blog

गढन–सागवीर जोड्ने झोलुङ्गे पुल। तस्बिर : अनिल पराजुली।

अनिल पराजुली

हेटौँडा, साउन १८ गते। पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ चिरुवा खोलामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ। बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले संयुक्त रूपमा गढन–सागवीर जोड्ने झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो।

पुलको उद्घाटन गर्दै प्रदेश सांसद पुलामीले अब झोलुङ्गे पुलबाट आवतजावत गर्न आग्रह गर्दै विकास निर्माणका कामले गाउँको मुहार नै फेरिएको बताउनुभयो। पालिका अध्यक्ष घलानले पुलको संरक्षण र जोगाउने कर्तव्य सबैको भएको बताउँदै युवालाई श्रमसँग जोडिन आग्रह गर्नुभयो। उहाँले यहाँ स्थानीय स्तरमा कृषिको राम्रो सम्भावना भएकाले पुल बनेपछि उत्पादन ल्याउन लैजान थप सहजता हुने विश्वास व्यक्त गर्नुभयो। 

बागमती गाउँपालिका ३ नम्बर वडा अध्यक्ष एवम् प्रवक्ता कमान सिं पाख्रिनले झोलुङ्गे पुल बनेसँगै यहाँका स्थानीय खुसी भएको बताउनुभएको छ। बर्खामा सधैँ खोलाको त्रासमा ओहोरदोहोर गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै उहाँले पुलले गढन र राईगाउँको दुरी घटेको बताउनुभयो। पुल सञ्चालनसँगै बागमती–२ राईगाउँदेखि बकैया गाउँपालिका–२ दोभान सम्मका करिब पाँच हजार लाभान्वित हुने उहाँको भनाइ छ।


सङ्घीय सरकारको ७७ लाख एक हजार ९६७ रुपैयाँ, पालिकाको ११ लाख ७७ हजार ९४४ र उपभोक्ता समितिको एक लाख ८१ हजार २२२ रुपियाँ सहित कुल ९० लाख ६१ हजार ११३ रुपियाँ लागतमा झोलुङ्गे पुल निर्माण भएको हो। झोलुङ्गे पुलको लम्बाई एक सय २० मिटर रहेको छ। २०८० भदौ ४ गते पालिकासँग सम्झौता गरेर सुरु गरिएको निर्माण कार्य असार १० गते सम्पन्न भई साउनमा उद्घाटन गरिएको निर्माण समिति अध्यक्ष रवि सिंतानले जानकारी दिनुभयो।