• ११ असोज २०८१, शुक्रबार

लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक

blog

राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका २०८०/८१ ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख डिल्लीराज भट्ट।

रमेश पौडेल

पोखरा, १८ साउन। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभएको छ। मानव अधिकारको विषय सामान्य नभई अत्यन्त गम्भीर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुपर्ने बताउनुभयो।  

राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका २०८०÷८१ ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मानव अधिकार सबैको लागि भएको बताउनुभएको छ।  उहाँले विशेष रूपले आवाजविहीन र सीमान्तकृत समुदायको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्ने हुँदा यसै दिशामा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो। प्रदेश प्रमुख भट्टले भन्नुभयो, ‘मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ। तर, यस्ता घटना हुनै नदिनेतर्फ हामी सजग हुनुपर्नेछ।’

उहाँले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिबद्ध रहनुपर्ने भन्दै आयोगलाई भौतिक, साधन र आवश्यक पर्ने बजेट विनियोजनमा ध्यान दिनुपर्ने बताउनुभयो। आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापना कालदेखि नै महत्त्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो। राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन गर्न प्रतिबद्ध समेत उहाँले जनाउनुभएको छ। 

राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख नितु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गर्नुभएको थियो।  टोलीमा मानव अधिकार अधिकृत टङ्कप्रसाद खनाल र सरोज गौली, लेखा अधिकृत मुक्तिराम सुवेदी, नायव सुब्बा मुकेश घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो।