• १८ साउन २०८१, शुक्रबार

साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने

blog

काठमाडौँ, साउन १८ गते । समयमा पानी परेका कारण यस पटक धान रोपाइँ समयमा सम्पन्न हुने देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन १३ सम्म ९२.४ प्रतिशत रोपाइँ भइसकेको छ । गत वर्ष यही यतिबेलासम्म ७८.१ प्रतिशत रोपाइँ मात्र भएको थियो । 

यही हिसाबले रोपाइँ भयो भने साउन मसान्तभन्दा पहिले नै शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. बहादुर केसीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसपालिको सुखद कुरा समयमा मनसुन सुरु भयो र नियमित पानी परिरह्यो, किसानलाई सिँचाइलगायत अन्य कुनै कुराको अभाव भएन, त्यही भएर समयमा रोपाइँ सम्पन्न भएको हो ।” 

अबको एक हप्तामा शतप्रतिशत रोपाइँ सम्पन्न हुन्छ, विगतमा भदौको आधासम्म रोपाइँ भइरहन्थ्यो तर यस पटक त्यस्तो हुँदैन, ठिक समयमा रोपाइँ सम्पन्न हुने विश्वास कृषि मन्त्रालयले लिएको छ । 

समयमा रोपाइँ सम्पन्न भयो भने उत्पादनमा पनि वृद्धि हुने बताउँदै सबै ठिकठाक रह्यो भने गत वर्षभन्दा एक लाखदेखि डेढ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने अनुमान कृषि मन्त्रालयको रहेको उहाँले बताउनुभयो । गत वर्ष ५७ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।

कुल धान बाली लगाइएको क्षेत्रफल आर्थिक वर्ष २०७९÷८० को तुलनामा ०.६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफल कायम हुन पुगेको छ । यो क्षेत्रफल अघिल्ला चार आवको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम हो । 

प्रवक्ता केसीका अनुसार ५० प्रतिशत रोपाइँ आकासे पानीबाट हुने गरेको छ । अरू बाँकी सिँचाइ नदीनाला तथा अन्य माध्यमबाट हुन्छ । अधिकांश स्थानमा रोपाइँ गर्न आकासे पानीकै भर पर्नुपर्ने अवस्था छ । 

समयमा वर्षा भएका कारण समयमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ । करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सिँचाइको संरचना निर्माण गरिएको छ तर करिब एक तिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुन सकेको कृषि मन्त्रालयले जनाएको छ ।