• १५ साउन २०८१, मङ्गलबार

फोहोर नपाउँदा परीक्षणमै बायोग्यास प्लान्ट

blog

लीलाधर वली

घोराही, साउन १५ गते । फोहोरबाट ग्यास उत्पादन गरेर घर घरमा पुर्‍याउने योजना अनुसार दाङको घोराहीमा निर्माण गरिएको बायोग्यास प्लान्ट उद्घाटन भएको दुई वर्षभन्दा बढी भयो । २०७८ चैत १९ गते घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको उक्त प्लान्ट फोहोर अभावका कारण पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । 

प्लान्ट सञ्चालनका लागि आवश्यक फोहोर सङ्कलन हुन नसक्दा परीक्षणका रूपमा मात्रै घरलाई ग्यास वितरण गरिरहेको नेपाल ऊर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठ बताउनुहुन्छ । प्लान्टका लागि दैनिक २५ टन फोहोर आवश्यक रहे पनि अहिले करिब दुई टन मात्र फोहोर सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । अहिले परीक्षणका लागि ३४ घरपरिवारलाई दैनिक चार घण्टाका दरले निःशुल्क बायोग्यास वितरण गरिरहेको श्रेष्ठले बताउनुभयो । 

“घोराही–१६ का करिब एक सय घरमा पाइपबाट बायोग्यास पुर्‍याउन पाइप विस्तार गरिसकेका छौँ तर फोहोर अभावका कारण सञ्चालन गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो । फोहोर नहुँदा अहिले दैनिक ६० देखि ६५ घनमिटरसम्म ग्यास उत्पादन हुने गरेको र त्यही ग्यासलाई खेर फाल्नुभन्दा परीक्षणका रूपमा प्लान्ट वरपरका स्थानीयलाई दिने गरेको उहाँले बताउनुभयो । ग्यास प्लान्ट पूर्ण रूपमा सञ्चालनमा आउँदा दैनिक दुई हजार घनमिटर ग्यास उत्पादन हुने गर्छ ।

प्लान्टका लागि फोहोर बढाउने र आगामी भदौदेखि करिब एक सय घरपरिवारमा बायोग्यास पुर्‍याउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसका लागि घोराहीमा रहेको वधशालालाई व्यवस्थित गर्ने, गल्ने र नगल्ने फोहोर अनिवार्य रूपमा वर्गीकरण गर्ने र अन्य आवश्यक फोहोर गौशालाबाट ल्याउने गरी काम भइरहेको उहाँले बताउनुभयो । 

पहिले घोराहीमा प्रशस्त फोहोर हुने भएकाले प्लान्ट स्थापना भए पनि बङ्गुरपालन गर्ने व्यवसायीले बजारको फोहोर उठाउने हुँदा समस्या भएको प्लान्टले जनाएको छ । 

२०७५ मङ्सिर ५ गते वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबिच त्रिपक्षीय सहकार्यमा घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्ने सम्झौता अनुसार २०७८ मा प्लान्ट निर्माण भएको थियो । 

सम्झौता अनुसार उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने, कम्पनीको ६० प्रतिशत र केन्द्रको ४० प्रतिशत लगानी गरेर फोहोरबाट ग्यास उत्पादन गर्ने योजना अनुसार प्लान्ट निर्माण गरिएको थियो । प्लान्टका लागि आवश्यक फोहोर व्यवस्थापनका लागि घोराही उपमहानगरपालिको गल्ने र नगल्ने फोहोर उपभोक्तालाई छुट्याउन लगाएर बार अनुसार फोहोर सङ्कलन गर्ने गरेको छ  । 

उपभोक्ताले गल्ने नगल्ने फोहोर नुछट्याउने र धेरै जसो फोहोर होटेलबाटै बङ्गुरपालन गर्ने व्यवसायीले लैजाने भएकाले प्लान्टका लागि आवश्यक फोहोर सङ्कलन हुन नसकेको घोराही उपमहानगरपालिका वातावरण तथा सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । प्लान्ट स्थापनाका लागि करिब २० करोड रुपियाँ खर्च भइसकेको छ ।