• १३ साउन २०८१, आइतबार

अर्घाखाँचीमा ८० प्रतिशत रोपाइँ, उत्पादन बढ्ने

blog

सन्धिखर्क नगरपालिका २ स्थित फाँटमा रोपाइँ गरिदै । तस्विरः राधा नेपाली

राधा नेपाली

सन्धिखर्क, साउन १३ गते । अर्घाखाँचीमा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । समयमा पानी परेकाले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । 

साउन अन्तिमसम्म कुल धानखेती हुने ९५ प्रतिशत खेतमा रोपाइँ सम्पन्न हुने कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । जिल्लाको कुल २६ हजार खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत अर्थात ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । 

समयमा पानी परेकाले धान उत्पादनमा वृद्धि हुने अनुमान कृषि ज्ञान केन्द्र अर्घाखाँचीले गरेको छ । केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले भन्नुभयो, “यसवर्ष समयमै पानी परेकाले रोपाइँ पनि समयमै भएको छ । चारदेखि पाँच प्रतिशतसम्म धान उत्पादनमा बृद्धि हुनसक्ने सम्भावना छ ।”   

जिल्लामा प्रतिहेक्टर ३.६१ मेट्रिक टन धान उत्पादन हुँदैआएको छ । अर्घाखाँचीमा वार्षिक ८० करोड रुपियाँको धान उत्पादन हुँदैगरेको प्रमुख घिमिरेले बताउनुभयो । नेपालको प्रमुख बालीको रूपमा रहेको धान उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्न कृषकलाई अनुदान र खेतीयोग्य जमिनको वर्गीकरण जरुरी रहेको उहाँको भनाइ छ । 

जिल्लामा पछिल्लो समय हाइब्रिड जातको धान बढी रोपिने गरिन्छ । स्थानीय जातहरू खुमल चार, पोख्रेलीलगायतका धानहरू लगाइँदै आएको सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयो । 

प्रमुख घिमिरेले भन्नुभयो, “जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूल प्रविधि र विकास कृषकसम्म पुर्‍य ाउन आवश्यक छ ।” 

समयमै पानी परे पनि गाउँघरमा खेताला नपाउँदा कृषकहरु समस्यामा पर्नेगरेका छन् । युवाहरू विदेश गएपछि गाउँमा वृद्ध, बालवालिका र महिला मात्र छन् । रोपाइँका लागि आवश्यक जनशक्ति उपलब्ध हुन नसकेकाले पनि रोपाइँमा ढिलाइ भइरहेको भट्टराईले बताउनुभयो । 

केन्द्रका अनुसार जिल्लामा ६० प्रतिशत गोरुमार्फत परम्परागत रुपमै धान खेती गरिदै आएको छ । ४० प्रतिशतले भने ट्याक्टर लगायतको आधुनिक प्रविधिबाट धानखेती गर्दैआएका छन् । पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गर्नेहरुको सङ्ख्या वृद्धि भइरहेको छ ।