• ११ साउन २०८१, शुक्रबार

साउनको दोस्रो साता पुग्दा बाँकेमा ७० प्रतिशत मात्र रोपाइँ

blog

वर्षा नहुँदा रोपाइँ नभएका डुडुवाका किसानका खेत। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन ११ गते। साउनको दोस्रो साता पुग्दासम्म पनि बाँकेमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ। गत दुई सातादेखि वर्षा नहुँदा पानीको अभावमा रोपाइँ सुस्त हुन जाँदा ७० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।

यति बेलासम्म रोपाइँ सम्पन्न भइसक्नुपर्नेमा समयमा वर्षा नहुँदा अझैपनि ३० प्रतिशत बढी रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमद खाँले बताउनुभयो। 

उहाँले जिल्लाका अधिकांश किसानले आकाशे पानीको भरमा धान खेती गर्दै आएकोले नै आकाशबाट समयमा पानी नपर्दा रोपाइँमा ढिलाइ हुँदै गएको बताउनुभयो। दुई साता अघि परेको पानीले बिउ राख्ने र केही दिन रोप्ने काम गरिए पनि अहिले खेतमा पानी नहुँदा रोपेका खेत पनि सुक्न थालेको प्रमुख खाँले बताउनुभयो। 

अन्य पालिकाको तुलनामा सिचाइँ सुविधा बढी भएको राप्ती सोनारी गाउँपालिकामा हालसम्म सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ भइसकेको र अन्य पालिकामा ६० देखि ७० प्रतिशत मात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। डुडुवा, जानकी र बैजनाथमा सबैभन्दा कम रोपाइँ भएको सो कार्यालयले जनाएको छ।

एक पटक केही दिन नरोकिएर वर्षा हुने हो भने जिल्लामा रोपाइँ सम्पन्न गर्न एक साता मात्र लाग्ने कृषि ज्ञान क्रेन्द्रका अधिकृत रामप्रकाश यादवले बताउनुभयो। 

असार १५ गते धान दिवस मनारइरहँदा जिल्लामा पानी नपरेकोले अधिकांश किसानले बिउसमेत राख्न पाएका थिएनन्। सो अवधीसम्म दुई प्रतिशत मात्र रोपाइँ भएको थियो। तर पछि केही दिन वर्षा भएकोले रोपाइँमा प्रगति भएको हो। 

बाँकेमा धान रोपाइँ हुने कुल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जग्गा छ। सोमध्ये अधिकांशमा सिचाइँ सुविधा नभएकोले धान खेतीका लागि किसान आकाशे पानी कुर्न बाध्य छन्।