• ११ साउन २०८१, शुक्रबार

मूल सुक्न थालेपछि पानीको स्रोत खोजिँदै

blog

सल्यान समाचारदाता

सल्यान, साउन ११ गते । यहाँको दार्मा गाउँपालिकाले खानेपानी अभाव भएका बस्तीमा पानी पु-याउन खानेपानी स्रोत खोजी कार्य सुरु गरेको छ । पछिल्लो समय पानीको मुहान सुक्दै जान थालेपछि पानीको हाहाकार मच्चिन थालेको छ । जलवायु परिवर्तन र मानवीय क्रियाकलापका कारण पानीका स्रोत सुक्दै गएका छन् । तीव्र गतिमा पानीका मुहान सुक्दै जाँदा पहाडी क्षेत्रका धेरै बस्तीमा जनजीविकामा समेत असर पारेपछि पालिका पानीको स्रोतको खोजीमा जुटेको हो । 

दार्मा गाउँपालिका–१, दार्माकोटका ४६ वर्षीय सेतीराम बुढाथोकीले करिब २० वर्ष पहिले गाउँमा प्रशस्त खानेपानीका मुहान भए पनि अहिले खानेपानीको अभाव भोग्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पानीका मूल प्रशस्तै थिए । वनजङ्गलभरि मूल फुटेका हुन्थे । पानीको समस्या थिएन, पछिल्ला दिनमा मूल हराउन थालेसँगै पानीको अभाव हुन थालेको छ ।” 

उहाँका अनुसार वनजङ्गलमा पशुवस्तुलाई खानका लागि समेत पानीको अभाव हुन थालेको छ । दार्मा गाउँपालिका–६,  मलिवाङकी रूपा चन्दले पनि पहिलेदेखि खाँदै आइरहेको धारामा पानी सुकेपछि अहिले पानीको समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले गाउँनजिकै दुई वटा खानेपानीका मुहान थिए । अहिले खानेपानीका लागि टाढा जानु परेको छ ।” दार्मा क्षेत्रमा पानीको मुहान भेटी नै छोडेका छन्  । भएका पानीका मुहान पनि संरक्षण नहँुदा बर्सेनि पानीको हाहाकार भोग्नु परेको छ । दार्मा गाउँपालिका–२ का उदयराम खत्रीले बसाइँसराइले ल्याएको भूउपयोगको परिवर्तनका साथै सडक र अन्य ठुला पूर्वाधार परियोजनाका लागि पहाड काट्ने जस्ता मानवीय हस्तक्षेपले पनि पानीका मुहान सुकेको हुन् कि भन्ने आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जथाभाबी निर्माण गरिएका सडक तथा पानी मुहान आसपासमा रुख कटान आदिले पानी मुहान सुकेको हुन् भन्ने जस्तो लागेको छ । 

दार्मा गाउँपालिकाका बस्तीमा खानेपानीको आपूर्तिका लागि पानीको स्रोतको खोजी गर्नुका साथै भूकम्पले क्षति पु¥याएका खानेपानी योजनाको मर्मत सुधारलाई पनि प्राथमिकता दिएर काम भइरहेको छ । पानीको अभावमा यहाँका समुदायको बस्ती विकासमा असर पर्न थालेपछि गाउँपालिका र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छताको साझेदारीमा पानीको स्रोत खोजेर घर घरमा पानी पु-याउन लागिएको छ । 

यो वर्ष दार्मा गाउँपालिकामा छ वटा खानेपानी स्रोतको खोजी गरिएको छ । प्रत्येक वडामा एउटा पानीको मुहान खोजी गरी पानी अभाव भएका बस्तीमा पानी पु-याइएको छ ।  गएको आर्थिक वर्ष २०८०/८१ मा चार करोड ५० लाख बराबरको लगानीमा खानेपानी योजना सम्पन्न भएको छ । पानीका मुहानको खोजी गरी ५८० घरमा खानेपानी पु¥याएको  छ । 

हराउँदै गएका पानीका स्रोत संरक्षण गर्न र प्रकृति वरपरको मुहानलाई बचाउन गर्न गाउँपालिकाले एक्साभेटरले सडक निर्माण गर्न बन्द गरेको छ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले ससाना योजना स्थानीय जनश्रमद्वारा निर्माण गर्ने कार्यलाई अगाडि बढाएको बताउनुभयो । उहाँका अनुसार पानीका स्रोत वृद्धिका लागि पानीपोखरी निर्माण र वृक्षरोपण गर्ने नीति लिएको पनि उहाँले बताउनुभयो ।