• १२ साउन २०८१, शनिबार

पेरिस ओलम्पिकको उद्घाटन सेन नदीमा

blog

पेरिस ओलम्पिक अन्तर्गत राफ्टिङमा प्रतिस्पर्धा गर्दै जापानकी अकी यजावा । तस्बिर : एपी/रासस

काठमाडौँ, साउन १० गते । ३३औँ गृष्मकालीन ओलम्पिक शुक्रबारदेखि फ्रान्सको राजधानी पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिकमा समावेश केही खेलहरू सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन सेन नदीमा भव्य समारोहबिच गरिन लागिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र फ्रान्स सरकारले ओलम्पिकको उद्घाटन समारोहलाई विशेष र फरक बनाउने प्रयास गरेको छ । ओलम्पिक खेलकुदको उद्घाटन पहिलो पटक रङ्गशाला बाहिर गरिन लागिएकोले पनि फरक र ऐतिहासिक बन्न लागेको हो ।

मौलिक र अद्वितीय छनक दिन लागिएको उद्घाटन सत्रमा सहभागी खेलाडीले सेन नदीमा डुङ्गामा परेड गर्नेछन् । ओलम्पिकमा सहभागी प्रत्येक देशका लागि एउटा डुङ्गाको व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार ओलम्पिक परेडमा १० हजार भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । उक्त परेड सेन नदीको ६ किलो मिटर दूरीमा हुनेछ । जसमा दर्शकले सबैतिर छरिएर उद्घाटनको परेड हेर्न सक्नेछन् । सेन नदी फ्रान्सको सबैभन्दा प्रख्यात नदी हो । यो राजधानी पेरिसहुँदै पूर्वबाट पश्चिमतर्फ बग्छ । 

नेपालबाट ६ खेलमा सात खेलाडी 

पेरिसमा ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीको सहभागिता रहेको छ । जसमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा तथा जुडोकी मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिताले छनोट चरण पार गरेर ओलम्पिक यात्रा तय गर्नुभएको हो । साउन २७ गतेसम्म चल्ने यस ओलम्पिकमा दुई सय ६ देशका खेलाडीले विभिन्न ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । जसमा तीन सय २९ इभेन्ट्स हुनेछन् ।