• १० साउन २०८१, बिहिबार

गाउँपालिका केन्द्रको अझै छैन टुङ्गो

blog

हाल सेवा दिइरहेको चिङ्गाड गाउँपालिका भवन ।

ललित बसेल

सुर्खेत, साउन १० गते । स्थानीय तहमा दोस्रो पटक निर्वाचन भएर जनप्रतिनिधि काम गरिरहेका छन् । पहिलो कार्यकालको पाँच वर्ष र दोस्रो स्थानीय तहको दुई वर्ष गरी सात वर्ष पुगिसकेको छ । यो अवधिमा जिल्लाको उत्तरी क्षेत्रको चिङ्गाड गाउँपालिकाले भने अहिलेसम्म न पालिका केन्द्र टुङ्गो लगाएको छ न त आफ्नै भवन नै निर्माण गर्न सकेको छ । पालिकाको स्थायी केन्द्र टुङ्गो नलाग्दा अहिले वडा नं. ५ को वडा कार्यालय अवलचिङबाट सेवा प्रदान गरिरहेको छ । वडा कार्यालयलाई नै कामचलाउ पालिका केन्द्र तोकेर काम भइरहेको छ । 

सो पालिकाको केन्द्रको मुद्दा सर्वोच्च अदालत पुगेको छ । पालिका केन्द्रको टुङ्गो नलागेपछि भौतिक संरचना निर्माण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष मीना रोकायाले पुरानो गाविस भवनबाटै पालिकाले सेवा प्रवाह गर्नु परेको बताउनुभयो । छ वटा वडा रहेको पालिकामा पाँच वटा वडा एकातिर छन् भने एउटा वडा अर्कोतिर रहेको छ । वडा नं. १, २, ३, ४ र ६ वडा नं. २ को साबिक चिङ्गाडको ढाँटखेतमा केन्द्र हुनुपर्ने भन्ने पक्षमा छन् भने वडा नं. ५ भने अवलचिङमा केन्द्र हुनुपर्ने भन्ने पक्षमा छ । यही विषयलाई लिएर अघिल्लो कार्यकालदेखि अदालतमा मुद्दा परेको छ । अहिलेसम्म अदालतले पालिका केन्द्रको टुङ्गोको विषयमा फैसला नगरिदिँदा पालिकाको पूर्वाधार निर्माण हुन नसकेको उपाध्यक्ष रोकायाले बताउनुभयो । 

पालिका केन्द्रको स्थायी टुङ्गो नहुँदा वडा कार्यालयबाटै सेवा प्रदान गर्नु परेको छ । जसले गर्दा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् । अहिलेको अस्थायी पालिका केन्द्र धेरै जसो वडाका बासिन्दालाई अपायक पर्ने गरेको स्थानीयको भनाइ छ । सबैलाई पायक पर्ने स्थान भनेको वडा नं. २ को ढाँटखेत हो तर राजनीतिक पूर्वाग्रहले गर्दा अहिलेसम्म स्थायी टुङ्गो लाग्न नसकेको भन्दै स्थानीय बासिन्दाले विरोधसमेत गर्ने गरेका छन्  ।

सुरुवाती वर्षदेखि पालिकाको केन्द्र तोक्ने काममा दलहरूबिच भएको विवाद अहिले अदालतसम्म पुग्दा गाउँपालिकावासीले दुःख पाइरहेको स्थानीयको भनाइ छ । पालिकाको स्थायी टुङ्गो नलाग्दा एकातिर सेवा प्रवाह सहज हुन सकेको छैन भने अर्कोतिर आफ्नै संरचना पनि बनाउन नसकिएको उपाध्यक्ष रोकायाले बताउनुभयो । भौतिक संरचना बनाउन नसकिँदा पालिकाका अन्य कार्यालय भाडामा लिनु परेको छ । 

पालिकाको स्थायी केन्द्रको टुङ्गो छिटोे लागेको भए भौतिक संरचना निर्माण गरी जनतालाई प्रभावकारी सेवा प्रदान गर्न सकिने उहाँको भनाइ छ । पालिकाका स्वास्थ्य, सहकारीलगायत अन्य शाखा स्थानीयको घर भाडामा लिएर सञ्चालन गरिएको छ । 

पालिकाको स्थायी केन्द्र नहुँदा १५ श-याको अस्पताल पनि निर्माण हुन सकेको छैन । सुर्खेतकै दुर्गम र विकट मानिने सो पालिकाका सबै वडामा सडक पुगे पनि बाह्रै महिना यातायात सञ्चालन हुन सक्दैन । बिरामीलाई घरबाट स्टे«चरमा बोकेर एम्बुलेन्स जाने सडकसम्म ल्याउनु पर्दछ ।