• ९ साउन २०८१, बुधबार

उद्योग दर्ताभन्दा बन्द हुने धेरै

blog

लीलाधर वली 

घोराही, साउन ९ गते । दाङमा घरेलु तथा साना उद्योग घटेका छन् । जिल्लामा बर्सेनि भइरहेका नयाँ दर्ता र लगतकट्टाको अवस्था हेर्दा घरेलु तथा साना उद्योगको अवस्था घट्दै गएको देखिन्छ । 

जिल्लामा आर्थिक वर्ष २०७९-८० को तुलनामा आव २०८०-८१ मा नयाँ दर्ता घटेका छन् । आव २०७९-८० मा एक हजार ५६९ साना उद्योग दर्ता भएकोमा आव २०८०-८१ मा एक हजार १०९ उद्योग मात्रै नयाँ दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा ४६० उद्योग कम दर्ता भएका छन् । 

नयाँ उद्योग दर्ता गर्ने व्रmम घटिरहेको समयमा दर्ता खारेजी गर्ने क्रम भने बढेको छ । आव २०७९-८० मा ६२१ उद्योगको दर्ता खारेज भएकोमा आव २०८०-८१ मा ८७६ उद्योगको दर्ता खारेज भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभएको छ । 

सूचना अधिकारी पौडेलका अनुसार एक वर्षको अवधिमा २५५ बढी उद्योगको दर्ता खारेज भएको छ । उद्योग दर्ता नवीकरण गर्ने भने केही बढेको पाइएको छ । अघिल्लो वर्षको तुलनामा आव २०८०-८१ मा एक हजार ८४ बढी उद्योगको दर्ता नवीकरण भएको छ । 

उहाँले उद्योगको लागतकट्टा गर्ने व्यवसायीले व्यवसाय नचलेकै कारण बन्द गर्नुपरेका कारण बताउने गरेको बताउनुभयो । कार्यालयमा लागत कट्टाका लागि आउने व्यवसायीलाई किन व्यवसाय बन्द गर्नुपर्ने भयो भनेर सोध्दा अधिकांश व्यवसायीले व्यवसाय चलेन विदेश जाने भन्दै लगत कट्टा गर्ने गरेको बताउनुहुन्छ । 

घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ताको रेकर्ड हेर्दा नयाँ दर्तामा उत्साह घट्दै गएको देखिएको छ । बर्सेनि नयाँ उद्योग दर्ता हुने व्रmम घट्दै गएको पाइएको हो । आव २०७४-७५ देखि आव २०८०-८१ सम्मकै तथ्याङ्क हेर्दा नयाँ दर्तामा उत्साह देखिएको छैन ।