• ८ साउन २०८१, मङ्गलबार

विपद् पीडितका लागि सबै जिल्लामा राहतको प्रबन्ध गरिएको छ : गृहमन्त्री लेखक

blog

प्रतिनिधि सभाको बैठकमा सांसदले राखेका जिज्ञासाको जवाफ दिनुहुँदै गृहमन्त्री रमेश लेखक।

काठमाडौँ, साउन ८ गते। गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद् पीडितलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नुभएको हो।

गृहमन्त्री लेखकले मृतकका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रूपमा अघि बढाइएको बताउनुभयो।

विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट सात हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट तीन हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्री लेखकले बताउनुभयो।

उहाँले विपदमा परी १३० जनाको मृत्यु भएको र घाइते भएका १४४ जना मध्ये ५ जना बाहेक सबै उपचार गरी घर फर्किएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस वर्षको मनसुन सुरु भएको दिन अर्थात् २०८१ जेठ २८ गतेदेखि हालसम्म देशभर विभिन्न प्राकृतिक प्रकोपका एक हजार ५९२ घटना भएका छन्।जसमध्ये हालसम्म १३० जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन्।४८ जना बेपत्ता भएका छन्।त्यसैगरी ५९४ पशु चौपायाको नोक्सानी भएको छ।२३१ घर र ८४ गोठमा क्षति पुगेको छ।हालसम्म ४३ वटा सानाठुला पुल बगेका छन्। दुई वटा सरकारी भवन भत्किएका छन्।यसै क्रममा चार हजार ४ परिवार विस्थापित हुने अवस्था सृजना भयो।जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित आश्रय स्थलमा सारिएको छ भने बाँकी आफ्नै घरमा फर्किएका छन्।मनसुनजन्य विपद्का कारणले देशका सबै ७७ वटै जिल्ला प्रभावित भएका छन् ।’’ 

विपदपछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गर्न सकिएको उहाँको भनाइ छ।

अधिकांश विपद्का घटनामा नेपाली सेना समेत खोज र उद्धारमा खटिएको छ।विपद्पछिको राहतका लागि सबै जिल्लामा आवश्यक राहत सामग्रीको प्रबन्ध भएको उहाँको भनाइ छ।

‘‘मृत्यु भएका १३० जना मध्ये ४७ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।बाँकी परिवार राहत रकम पाउने प्रक्रियामा रहेका छन्।त्यसैगरी ४८ जना बेपत्ता भएको स्थिति छ’’, उहाँले भन्नुभयो।

विभिन्न ठाउँमा प्राकृतिक प्रकोपका कारणले घाइते भएका र समयमा अस्पताल ल्याउन जटिलता भएको स्थितिमा नौ जनाको हेलिकप्टरबाट उद्धार गरिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘असार २८ गते चितवन जिल्लाको सिमलताल बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जनामध्ये हालसम्म २४ जनाको शव फेला परेको छ।जसमध्ये १९ जना पहिचान भई आफन्तले शव बुझी लगेका छन् भने पाँच जनाको पहिचान हुन सकेको छैन।बाँकी ४३ जनाको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल समेतले खोजी कार्य गरिराखेको स्थिति छ।’’

गृहमन्त्री लेखकले चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोजी कार्यका लागि भारतीय सुरक्षाकर्मी पनि परिचालन गरिएको संसद्लाई जानकारी गराउनुभयो।