• ८ साउन २०८१, मङ्गलबार

कृष्णनगर विद्युत केन्द्रद्वारा एक अर्ब २८ करोड राजस्व सङ्कलन

blog

कृष्णनगर (कपिलवस्तु), साउन ८ गते । नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब २८ करोड ७९ लाख ५१ हजार सात सय ९२ रुपियाँ ६५ पैसा राजस्व सङ्कलन गरेको छ । वितरण केन्द्रका प्रमुख सुशील पौडेलका अनुसार गत आवको तुलनामा ३७ दशमलव ८६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले भन्नुभयो, “आव २०७९/८० मा कृष्णनगर वितरण केन्द्रले ९३ करोड ४२ लाख २३ हजार आठ सय ५१ रुपियाँ २५ पैसा सङ्कलन गरेको थियो ।” गत आवमा नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रमार्फत १३ करोड ९३ लाख ७३ हजार पाँच सय ३७ युनिट खपत भएको केन्द्र प्रमुख पौडेलले जानकारी दिनुभयो । आव ०७९/८० मा नौ करोड ९२ लाख ४३ हजार दुई सय ८६ युनिट खपत भएको थियो । 

गत वर्षको तुलनामा ४० दशमलव ०५ प्रतिशत खपत वृद्धि भएको कृष्णनगर वितरण केन्द्रले जनाएको छ । प्राधिकरणले ४५ दिनको लक्ष्य लिए पनि ४१ दिनमा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सफल भएको हो । हुकिङमार्फत विद्युत चोरी गर्ने ५४ जनालाई कारबाही गरी आठ लाख १९ हजार सात सय २२ रुपियाँ ५४ पैसा सङ्कलन गरेको छ ।

कालोसूचीमा परेका ६१ ग्राहकबाट ४७ लाख ७९ हजार ९६ रुपियाँ ३१ पैसा, मिटरबाट सिधा विद्युत चोरी गर्ने १० जनामार्फत दुई लाख ४४ हजार चार सय ४१ रुपियाँ ९६ पैसा जरिवाना रकम लिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ‘डिमान्ड’ चुहावटमा परेका ८२ जनामार्फत तीन लाख तीन हजार नौ सय ५३, बन्दी मिटरबाट चार लाख २९ हजार चार सय ७५ रुपियाँ ५४ पैसा असुल गरेको छ ।

विद्युत महसुल शुल्क नतिरेका दुई हजार तीन सय ४९ जनामार्फत छ करोड ७५ लाख आठ सय ३३ सङ्कलन गरेको हो । केन्द्रले सडक बत्तीको सात करोड चार लाख ३७ हजार नौ सय ८३ रुपियाँ बक्यौता रहेको जनाएको छ । सरकारी अनुदान बक्यौता छ करोड छ लाख ३३ हजार एक सय ७७ रुपियाँ ९५ पैसा रहेको छ । 

वितरण केन्द्रले कपिलवस्तुको चोरखोला गाउँमा ६२ वर्षपछि विद्युतीकरण गरी गाउँमा बत्ती बालेको छ । आव २०८०/८१ मा कृष्णननगर मातहत सञ्चालित विभिन्न १३ योजनामध्ये आठ वटा सम्पन्न भएका छन् । बाँकी पाँच वटा योजना सञ्चालनको चरणमा छन् । कृष्णनगर वितरण केन्द्र मातहत कूल ५० हजार पाँच सय ८१ ग्राहक छन् । रासस